NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

सात वर्षमा १३५ प्रतिशतले बढ्यो बलात्कार, जोखिममा बालिका

गत साउनदेखि माघसम्म देशभर १ हजार ४ सय २३ बलात्कारका घटनाहरु प्रहरीमा दर्ता भएका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार यो अवधिमा कुल १ हजार ४ सय ४९ जना बलात्कृत भएका छन् भने १ हजार ६ सय २९ जनालाई बलात्कार मुद्दामा दोषी पाइएको छ । सात महिनाको यो तथ्यांकले भयावह अवस्था दर्शाउँछ । केही वर्षयता लगातार बलात्कारका घटनाहरु बढिरहेका छन् । आर्थिक वर्ष २०७०/०७१ मा ९ सय १२ बलात्कारका घटनाहरु घटेका थिए । यो तथ्यांकलाई चालु आवको तथ्यांकसँग तुलना गर्दा करिब १३५ प्रतिशतले बलात्कारका घटना बढेको देखाउँछ । आव २०७१/०७२ मा ९ सय ८१ बलात्कारका घटनाहरु भएका थिए । यो संख्या आव २०७२/०७३ मा ९.९ प्रतिशतले बढ्यो । जसअनुसार देशभर १ हजार ८९ बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए । आव २०७३/०७४ मा अघिल्लो वर्षको तुलनामा ३.५ प्रतिशतले वृद्धि भई १ हजार १ सय ९१ बलात्कारका घटना घटेका थिए । अघिल्लो वर्ष दर्ता भएका घटनाभन्दा आव २०७४/०७५ मा २५.५८ प्रतिशत बढी बलात्कारका घटना भएको प्रहरीको तथ्यांक छ । उक्त आवमा १ हजार ४ सय ८० घटनाहरु दर्ता भएका छन् । आव २०७५/०७६ मा यो संख्या ३३.६३ प्रतिशतले बढ्न पुग्यो । यो वर्ष २ हजार २ सय ३० बलात्कारका घटना बाहिर आएका थिए । एकै वर्षमा तथ्यांकमा देखिएको यो वृद्धिदरलाई सामान्य मान्न सकिँदैन । अर्को आव २०७६/०७७ मा भने बलात्कारका घटनामा न्यून अनुपातमा कमी आएको छ । यस वर्ष २ हजार १ सय ४४ बलात्कारका घटनाहरु प्रहरीमा दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४.०१ प्रतिशत कम हो । विगत ७ वर्षको तथ्यांकमा आव २०७६/०७७ नै पहिलो आव हो, जसमा अघिल्लो वर्षभन्दा कम बलात्कारका घटनाहरु प्रहरीमा दर्ता भएका छन् । प्रदेश १ मा बढ्दो बलात्कारआव २०७४/०७५ यता जति बलात्कारका घटनाहरु प्रहरीमा दर्ता भएका छन्, त्यसमा एउटा समानता देखिन्छ । त्यो हो, हरेक वर्ष सबैभन्दा धेरै बलात्कारका घटनाहरु प्रदेश १ मा घटेका छन् । यो वर्ष दर्ता भएका १ हजार ४ सय ८० बलात्कारका घटनामध्ये ३ सय ८४ अर्थात् २५.९४ प्रतिशत घटना प्रदेश १ मा का छन् । उक्त आवमा प्रदेश १ पछि लुम्बिनी प्रदेशमा धेरै (२७० घटना) घटना घटेका छन् । आव २०७५/०७६ मा पनि प्रदेश १ मा दर्ता भएका बलात्कार घटनाको तथ्यांक भयावह छ । कुल २ हजार २ सय ३० बलात्कारका घटनामा ५ सय ४४ प्रदेश १ मै भएका छन् । यो संख्या कुल घटनामध्येको २४.३९ प्रतिशत हुन आउँछ । आव २०७६/०७७ मा पनि दर्ता भएका घटनाको २२.६१ प्रतिशत बलात्कार प्रदेश १ मै भएको छ । कुल २ हजार १ सय ४४ घटना दर्ता भएकोमा ४ सय ८५ घटना प्रदेश १ मै भएका छन् । आव २०७७/०७८ को माघ मसान्तसम्मको तथ्यांकमा पनि २४.७३ प्रतिशत बलात्कारका घटनाहरु प्रदेश १ मा दर्ता भएका छन् । यो अवधिमा भएका कुल १ हजार ४ सय २३ घटनामध्ये ३ सय ५२ घटना प्रदेश १ मा दर्ता भएका छन् । चपेटामा बालिका नेपाल प्रहरीको गत र चालु आवको माघ मसान्तसम्मको तथ्यांकअनुसार बलात्कार हिंसामा सबैभन्दा धेरै पीडित बलिका छन् । गत चैतमा देशैभर भएका १ सय ३४ बलात्कारका घटनामा ८८ जना १८ वर्षमुनिका बालिका छन् । त्यसमा पनि १० वर्षभन्दा मुनिका १८ जना, ११ वर्षदेखि १६ वर्षसम्मका ४६ जना र १७ देखि १८ वर्षका २४ जना बलात्कृत भएका छन् । गत आवको चैतदेखि माघ मसान्तसम्ममा देशैभर २ हजार ४ जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । जसमा पीडित २ हजार ३७ जना छन् भने पीडक २ हजार २ सय ९४ जना । पीडितमध्ये सबैभन्दा धेरै १८ वर्षमुनिका बालिकाहरु छन् । कुल पीडितको संख्यामा यो उमेर समूहका मात्रै ७२.०१ प्रतिशत अर्थात् १ हजार ४ सय ६७ जना छन् । यो अवधिमा कुल बलात्कृतमध्ये १० वर्षमुनिका बालिकाको संख्या २ सय ६९ छ । त्यस्तै, ११ देखि १६ वर्षसम्मका ८ सय ७६ जना र १७ देखि १८ वर्षसम्मका ३ सय २ जना छन् ।