NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि कार्यालयको सेवा ६ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा-४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ सम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताएका हुन् । स्थानीय एक सहकारीका सदस्यहरू भ्रमणमा गएर फर्किएपछि सुरुमा ३ जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट ट्रेसिङ गरी नमूना परीक्षण गर्दा चैत ११ मा थप १३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितहरु भ्रमणमा गएका र उनीहरुका परिवारका सदस्य रहेका छन् । कार्यालयबाट सेवा प्रवाह गर्दा सङ्क्रमण अझ बढ्न सक्ने अवस्था रहेकाले सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सेवा बन्द गरिएको अध्यक्ष गुरुङले बताए । सभा, समारोह र भेला आयोजना नगर्न प्रशासनको आग्रहजिल्ला प्रशासन कार्यालय कास्कीले पछिल्लो समय भारतलगायत छिमेकी देशमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै अनावश्यक सभा, समारोह, सम्मेलन र भेला आयोजना नगर्न आग्रह गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबारको बैठकपछि प्रशासनले सूचना जारी गरी कोभिड–१९ नेपालमा पनि बढ्नसक्ने भएकाले सोको नियन्त्रणका लागि विभिन्न ६ बुँदे निर्देशन जारी गरेको छ । प्रशासनले नजिकिँदै गरेको होली पर्वलगायत चाडपर्व मनाउँदा र अत्यावश्यकबाहेक गोष्ठी, भेला, कार्यक्रम गर्दा भीडभाड नगरी अनिवार्य जनस्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरिएको छ । यसैगरी, क्वारेन्टिन तथा आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने, सरकारी तथा गैरसरकारी संस्था, व्यावसायिक प्रतिष्ठान, होटल, रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्थामा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गराउने र सुरक्षित तवरले सेवा प्रवाह मिलाउन आग्रह गरिएको छ । मास्कको अनिवार्य प्रयोग, स्यानिटाइजर, भौतिक दूरी कायम गर्न आग्रह गर्दैै प्रशासनले होटल, रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा समेत तोकिएको मापदण्डको पालना गर्न भनिएको छ । प्रशासनको आग्रहलाई अवज्ञा गर्ने गराउने व्यक्तिलाई सङ्क्रामक रोग ऐन, २०२० तथा प्रचलित कानूनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ । (रासस)