NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

रहेनन् ‘बेनीको बजार…’ का सर्जक श्रेष्ठ

म्याग्दी । लोकगीत सर्जक एवं गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । उनले लेखेकाे र आवाजसमेत दिएको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ गीत म्याग्दी सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोबास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो । ‘बेनीको बजार,जता मायाँ उतै छ नजर….’ बोलको गीत श्रेष्ठले २०३१ मा रेडियो नेपालमा रेकर्ड गरेपछि चर्चामा आयो । श्रेष्ठ र उनकी श्रीमती मन छन्त्यालको युगल स्वर रहेको यो गीत हालसम्म पनि धेरैको जनजिब्रोमा झुन्डिएको पाइन्छ । यही गीतका आधारमा नै बेनी बजारलाई ‘मायालुको सहर’ भनेरसमेत चिनिन्छ । लामो समयसम्म मिर्गौलासम्बन्धी समस्याले ग्रसित गायक श्रेष्ठले डायलासिस गराइरहेका थिए । उनको निधनले लोक सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको यस क्षेत्रमा लागेकाहरुले बताएका छन् । मिर्गौलासम्बन्धी समस्या झेलिरहँदासमेत श्रेष्ठ साङ्गीतिक क्षेत्रसँग नजिक थिए । तबला, हार्मोनियम लगायतका थुप्रै बाजा बजाउन सिपालु श्रेष्ठ एक दशकयता भने गुमनामजस्तै थिए । विसं २०१९ फागुन ७ मा प्रजातन्त्र दिवसका दिन काठमाडौंको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले ‘बेनीको बजार,जता मायाँ उतै छ नजर….’ बोलको गीत गाएका थिए । सो कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको बेनीको बजार बोलको गीत नै प्रथम भएको म्याग्दीका अग्रज कलाकार अबिरकुमार श्रेष्ठले बताए । त्यसपछि सोही गीत २०३१ मा रेडियो नेपालमा रेकर्ड गरिएको थियो । (रासस)