NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

ह्यारी र मेघनले बेलायती दरबार छोडेकाे विषयमा फिल्म बन्ने

बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्केलको जीवनमा आधारित फिल्म बन्ने भएको छ । उनीहरूको जीवनबारे यसअघि पनि फिल्म निर्माण गरेको अमेरिकी केबल च्यानल लाइफटाइमले ह्यारी र मेघनबारे फिल्म निर्माण गर्न लागेको हो । यसअघि दुईजनाको प्रेममा आधारित फिल्म बनाएको लाइफटाइमले यसपटक भने दुई दम्पती राजपरिवारबाट किन अलग्गिए भन्ने कथामा आधारित फिल्म बनाउने भएको छ । फिल्मको नाम ‘ह्यारी एन्ड मेघनः इस्केपिङ दी प्यालेस’ रहनेछ । जसमा ह्यारी र मेघनले दरबार छोड्नुपरेकोबारे मुख्य कारणलाई खुलाइने लाइफटाइमले जनाएको छ । दरबारभित्र मेघनको बढ्दो एक्लोपन, निराशाका साथै सञ्चारमाध्यमले आफूमाथि गरेका आक्रमणलाई राजपरिवारले बचाउ गर्न नसकेको र ह्यारीमा पनि विगतमा आफ्नी आमा डायनालाई भएजस्तै घटना दोहोरिने डरबारे फिल्मले प्रकाश पार्ने जनाइएको छ । फिल्ममा ह्यारीका दाजु विलियम र ह्यारी, केट र मेघन र ह्यारी र चाल्सबीचको आन्तरिक कलहले गर्दा दरबारमा निम्तिएको विभाजनबारे पनि दर्र्शाइनेछ । आगामी वसन्त ऋतुमा फिल्मको निर्माण सुरु हुने लाइफटाइमले जनाएको छ । दुई महिनाभित्रमा ह्यारी र मेघनको भूमिका निर्वाह गर्ने कलाकारहरू पनि तय हुने छन् । यसअघि पनि लाइफटाइमले ह्यारी र मेघनको जीवनमा आधारित ह्यारी एण्ड मेघनः अ रोयल रोमान्स र ह्यारी एन्ड मेघनः बिकमिङ रोयल गरेर दुईवटा फिल्म निर्माण गरिसकेको छ ।