NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

ओलीलाई हटाउन कांग्रेस अघि बढोस्, हामी समर्थन गर्न तयार छौं : उपेन्द्र यादव

रूपन्देही । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस अघि बढे आफ्नो पार्टीको पनि समर्थन रहने जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट नहटाएसम्म प्रतिगमनको खतरा कायमै रहेको बताउँदै उनले यसका लागि कांग्रेसलाई सघाउन जसपा तयार रहेको बताएका हुन् । नेता यादवले ओली नेतृत्वको सरकारमा जसपा कुनै पनि हालतमा सहभागी नहुने समेत स्पष्ट पारे । ‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनै पर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ, त्यसका लागि कांग्रेस अघि बढोस्, हामी समर्थन गर्न तयार छौं,’ शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा यादवले भने, ‘यो प्रतिगमनकारी सत्ता हो, समावेशितालाई समाप्त पार्छ । हामी ओली सरकारमा जाँदैनौं ।’ मुद्दा खारेजी र बन्दी रिहाइबारे सरकारसँग छलफल भएको तर सत्ता साझेदारी हुन नसक्ने उनको भनाइ छ । जसपाले विभिन्न आन्दोलनमा पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइ र संविधान संशोधनलाई नयाँ सरकार गठनको बटमलाइन बनाएको छ । यी दुवै माग सम्बोधन गर्ने प्रतिबद्धतापछि मात्रै सरकारमा जाने उसको अडान छ । प्रधानमन्त्री ओलीले संविधान र संसद्‌माथि प्रहार गरेपछि अहिले पुनः संसद्लाई असफल पार्ने प्रयत्न गरिरहेको उनको भनाइ छ । राष्ट्रिय अर्थतन्त्र चौपट भएको बताउँदै उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सट्टा ‘दरिद्र नेपाल र दु:खी नेपाली’ भएको टिप्पणी गरे ।