NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

लगानीकर्ता झुक्याएकोमा किसान लघुवित्तले माफी माग्यो

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गलत हकप्रद बारेमा नेप्सेलाई स्पष्टीकरण पेश गरेको छ । कम्पनीले दिएको स्पष्टीकरणमा समयमा सम्बन्धित निकायसँग परामर्श हुन नसक्दा हकप्रदको प्रस्ताव राखेर पनि हटाउन परेको उल्लेख गरेको छ । धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ को १ (घ) का अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना तथा जानकारी सृजना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुभन्दा अघिनै नेप्सेमा पेश गनुपर्ने व्यवस्था छ । सोही अनुसार नेप्सेले कम्पनीलाई हकप्रदको सुचना के हो र सूचना पटकपटक संशोधन गर्नुको उद्देश्यसहित तीनदिनभित्र नेप्सेमा स्पष्टीकरण दिन भनेको थियो । कम्पनीका अनुसार साधारणसभा हुनुभन्दा २१ दिन अगाडि नै साधारणसभा सम्बन्ध सूचना सार्वजानिक गर्नपर्नेे र सोही दिन बिदा भएकाले सम्बन्धित निकायमा परामर्श गर्न नसकिएकाले हकप्रद प्रस्तावसहितको साधारण सभाको सूचना प्रकाशन गरेको उल्लेख छ । साथै, दोस्रो दिन नेपाल राष्ट्र बैंकसँग परामर्श लिँदा बैंकले हकप्रदको प्रस्ताव हटाउन भनेपछि अर्को संशोधनको सूचना सार्वजानिक गर्न परेको दावी कम्पनीको छ । त्यस्तै नेप्सेमा समयमा सूचना नपठाएकोबारे कम्पनीले निर्णय भएको दिन बिदा परेको र दोस्रो दिन अपलोड गर्दा सूचना परिर्वतन गर्नुपर्ने र कम्पनीको पुरानो नामको मात्र लग ईन आइडी भएको र त्यसले काम नगरेको कम्पनीले उल्लेख गरेको छ । त्यस्तै नेप्सेसँग नयाँ नामको लगईन आइडी लिन जाँदा ढिला भएको र नयाँ आईडी पाउनासाथ सूचना अपलोड गरेको कम्पनीले दाबी गरेको छ । कम्पनीले चैत ८ गते चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रदको प्रस्ताव गरी दोस्रो वार्षिक साधारण सभाको सूचना दिएको थियो भने भोलिपल्ट अर्थात चैत ९ गते नैे हकप्रदको प्रस्ताव हटाएर अर्को संशोधनको सूचना सार्वजानिक गरेको थियो । कम्पनीले हकप्रद प्रस्तावसहितको सूचना प्रकाशन गर्दा शेयर मूल्यमा प्रभाव पार्ने कुनै पनि मनसाय नभएको र सबै कुरा मानवीय त्रुटीको कारण भएको जिकिर गरेको छ । कम्पनीले यसबाट सबैमा पर्न गएको असरप्रति क्षमायाचना गर्दै आगामी दिनमा यस्ता कमीकमजोरी नदोहोर्याउने प्रतिबद्दतासमेत व्यक्त गरेको छ ।