NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

प्रदेश १ मा मन्त्रिमण्डल विस्तार, ४ मन्त्री र २ राज्यमन्त्रीले लिए सपथ

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिमण्डल विस्तार गरेका छन् । जसअनुसार ४ जना मन्त्री र २ जना राज्यमन्त्री नियुक्त भएका छन् । प्रदेशसभा सदस्यहरु अम्बिरबाबु गुरुङ, रामबहादुर मगर, टंक आङ्बोहाङ र उषाकला राई मन्त्री भएका हुन् । कला घले र राजकुमार ओझालाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले जनाएको छ । शुक्रबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका थिए । राज्यमन्त्रीले भने मुख्यमन्त्री राईबाट शपथ खाएका थिए । गुरुङले भौतिक पूर्वाधार विकास मन्त्रालय र मगरले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्ने छन् । यसअघि दुवैजना यीनै मन्त्रालयको राज्यमन्त्री थिए । यस्तै, माओवादी केन्द्रको संसदीय दलको नेता छोडेर एमाले भित्रिएका आङ्बोहाङलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाइएको छ । एमालेकै माधवकुमार नेपाल समूह छोडेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षतर्फ खुलेकी राईले सामाजिक विकासमन्त्रीको जिम्मेवारी पाउने भएकी छन् । यस्तै, घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र ओझालाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको हो । नेकपाको आन्तरिक किचलो र प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि यसको तरंग प्रदेश सरकारसम्म पुगेको थियो । साबिक नेकपाको दाहाल-नेपाल समूहका ३७ सांसदले पुस १२ मा प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री राईकै पद धरापमा परेको थियो । मन्त्रीहरुले राजीनामा समेत दिएका थिए । अविश्वास प्रस्ताव दर्ता गराउन हस्ताक्षर अभियान चलाएको भन्दै मुख्यमन्त्री राईले तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पुस ११ पदबाट बर्खास्त गरेका थिए । अविश्वास प्रस्ताव दर्ता गराउनुअघि तत्कालीन सामाजिक विकासमन्त्री जीवन घिमिरे, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले पुस १२ मा राजीनामा दिएका थिए । तर फागुन २३ मा सर्वोच्चले नेकपा खारेज गरी एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि मात्रै राई सुरक्षित देखिएका हुन् । पछिल्लो पटक एमालेको नेपाल समूहका सांसदले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने जनाएका छन् । २२ मध्ये ६ सांसदले यसअघि नै फिर्ता लिइसकेका छन् । यस्तोमा मुख्यमन्त्री पद सुरक्षित भएपछि राईले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।