NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

निगमलाई चिनियाँ जहाज बेच्न वा लिजमा दिन बाटाे खुल्याे

काठमाडौं । नेपाल वायुसेवा निगमले गत साउन १६ बाट नउडाउने घोषणा गरेका ६ वटा चिनियाँ जहाजको व्यवस्थापनका लागि अर्थ मन्त्रालयले राय दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव तारानाथ अधिकारीका अनुसार अर्थ मन्त्रालयले ती जहाजहरू बिक्रि या भाडामा दिनका लागि राय दिएको छ । ‘अर्थ मन्त्रालयले जहाजको व्यवस्थापनका लागि पहिलो प्राथामिकता लिजमा दिने यदि लिजमा दिन सम्भव नभए बिक्री प्रक्रिया अघि बढाउन भनेको छ,’ अधिकारीले नेपालवाचसँग भने । निगमले ती जहाज नउडाउने घोषणा गरेसँगै आफू मातहतको मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको थियो । जहाज व्यवस्थापनका लागि पर्यटन मन्त्रालयले पनि अर्थलाई तीन महिनाअघि पत्राचार गरेको थियो । यसमा अर्थले जहाज लिजमा दिन नसक्ने अवस्था भएमा बेच्ने राय दिएको हो । निगमले औपचारिक रुपमै ती जहाज नउडाउने घोषणा गरेपछि अर्थमन्त्रालयसमक्ष गत मंसिरमा चारवटा सुझाव पेश गरेको थियो । जसमा चिनियाँ जहाज निर्माण कम्पनी एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसनलाई फिर्ता गर्ने, बिक्री गर्न टेन्डर प्रक्रियामा जाने, लिज प्रक्रियाबाट अन्य कम्पनीलाई दिने अथवा नयाँ जहाज खरिद गर्दा डाउन पेमेन्टको रुपमा प्रयोग गर्ने उल्लेख थियो । निगमले चिनियाँ जहाजबाट दुई अर्ब घाटा भएको भन्दै नउडाउने घोषणा गरेको थियो । यतिबेला ६ वटा चिनियाँ जहाजमध्ये पाँचवटा त्रिभुवन विमानस्थलको ह्यांगरमा छन् भने एउटा वाई १२ हाज गत वर्षको चैतमा नेपालगञ्जमा दुर्घटनामा परेकोे थियो । थ्र्रोट स्वाब संकलन गर्न गएको उक्त जहाज अवतरणको क्रममा दुर्घटना हुँदा उडाउन नसकिनेगरि क्षतिग्रस्त भएको छ ।।