NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रचण्डले गृह मन्त्री बादललाई कारबाही नगर्नुको यस्तो छ रहस्य

काठमाडौँ । नेकपा माआवादी केन्द्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका प्रतिनिधि सभाका चार जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्यो । माओवादी केन्द्रले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको हो । माओवादी केन्द्रको कारबाहीसँगै उनीहरूको प्रतिनिधि सभा सदस्य पद पनि गुमेको छ । प्रतिनिधि सभाका चार जना सदस्यलाई कारबाही गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन संगठन विभाग प्रमुख , सचिवालय सदस्य एवं गृह मन्त्री रामबहादुर थापालाई भने कुनै कारबाही गरेका छैनन् । जब कि माओवादी केन्द्र छाडेर एमाले अध्यक्ष ओलीलाई साथ दिने कार्यको नेतृत्व स्वयम् थापाले नै गरेका थिए । प्रचण्डले थापालाई कारबाही नगरेकाले उनको राष्ट्रिय सभा सदस्य पद यथावत छ । रायमाझी, भट्ट, साह र चौधरीभन्दा वरियतामा माथि रहेका प्रचण्डले किन कारबाही गरेनन् ? थापा माओवादी केन्द्रमै फर्कने प्रतिक्षामा कारबाही नगरेका होलान् ? कौतुहल बाँकी नै छ । जानकारका भनाइमा प्रचण्डले थापालाई कारबाही गरे पनि एमाले अध्यक्ष ओलीले उनलाई पुनः राष्ट्रिय सभाको सदस्य बनाउने भएकाले नचलाएका हुन् । थापा एमालेसँगको गठबन्धनमा माओवादी केन्द्रका तर्फबाट वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । अहिले माओवादी केन्द्रले उनलाई कारबाही गरेर हटाए पनि पुनः निर्वाचन भए वागमती प्रदेशबाट राष्ट्रिय सभामा एमालेले नै जित्नेछ । र, सम्भवतः त्यो कोटामा प्रधानमन्त्री ओलीले थापालाई नै राष्ट्रिय सभा सदस्य बनाउने छन् । आफूले थापालाई कारबाही गरे पनि ओलीले पुनः उनैलाई निर्वाचित गर्ने सम्भावना रहेकाले यथावत् राखिएको माओवादी केन्द्रका एक नेताले नेपालवाचलाई बताए । ती नेता भन्छन्, ‘बादललाई कारबाही गर्न सकिन्थ्यो । तर उनलाई कारबाही गरेपछि लगत्तै रिक्त पदमा निर्वाचन गर्नुपर्नेछ । रिक्त हुन आउने उक्त पदमा एमालेका उम्मेदवार नै निर्वचित हुन्छन् । एमालेबाट ओलीले थापालाई नै उठाउने छन् । त्यसैले कारबाही नगरिएको हो ।’ प्रदेशसभा निर्वचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सांसदहरु मतदाता हुन्छन् । वागमती प्रदेशमा ती मतदाताको संख्यामा एमाले एक्लैको बहुमत छ । यस्तो अवस्थामा माओवादी केन्द्रले थापालाई कारबाही गर्दा क्षणिक रिस फेर्नेबाहेक अरु केही देखिंदैन । त्यहीकारण थापालाई कारबाही नगरिएको माओवादी केन्द्रका ती नेताको भनाइ छ ।