NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

एमालेतिर लागेका सांसद बोहोरालाई माओवादीले सोध्यो स्पष्टीकरण

काठमाडौं । पार्टी छोडेर एमालेतिर लागेको भन्दै माओवादीले सुदूरपश्चिम प्रदेश सभाका सांसद झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ । अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित बोहोरालाई २४ घण्टाभित्र जवाफ माग गर्दै बुधबार माओवादीले स्पष्टीकरण सोधेको हो । माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले बोहोरासँग स्पष्टीकरण सोधेका हुन् । ‘सर्वोच्च अदालतको फैसलाबमोजिम पार्टी एकीकरण नभई पूर्ववत् अवस्थामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) साविककै पार्टी रहने भएपछि पनि तपाईंको राजनीतिक क्रियाशीलता नेकपा (एमाले) पार्टीमा देखिएको र एमालेको केन्द्रीय सदस्यसमेत नियुक्ति भएको देखिन आएकोले’ स्पष्टीकरण पत्रमा उल्लेख छ, ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा १ र २ बमोजिम कार्य गर्नुभएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ (ख) बमोजिमको कार्यसमेत गरेको बुझिन आएकोले तपाईंले पार्टी परित्याग गर्नुभएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्कासन नगर्ने ?’ माओवादीले केन्द्रदेखि प्रदेशसम्मै एमालेतिर लागेका नेताहरुलाई स्पष्टीकरण सोधिरहेको छ । केन्द्रीय सरकारमा सहभागी मन्त्रीहरुको सांसद पद नै खारेज गर्न संसद सचिवालयमा पत्र पठाइसकेको छ ।