NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

गर्मीसँगै बालबालिकामा संक्रमणको जोखिम

गर्मी मौसमको आगमनसँगै कतिपय रोगव्याधी सल्बलाउन थाल्छन् । गर्मीयामसँगै बालबालिका अझ बढी जोखिममा हुन्छन् । कोरोना भाइरसको जोखिमसँगै अन्य रोगले पनि बालबालिकालाई सताउने हुँदा सतर्क हुनु जरुरी रहेको चिकित्सकको सुझाव छ । गर्मी बढेसँगै झाडापखाला, आउँ, टाइफाइड, मलेरिया, कालाजार, डेङ्गु, हेपाटाइटिस, छालामा हुने समस्यालगायतका बिरामी बढ्ने गरेको विशेषज्ञको भनाइ छ । बालबालिकालाई यस्तो रोगबाट जोगाउन अझ बढी सतर्क रहनुपर्छ । गर्मीयाममा समयमा खाना, पानी, बसाइ तथा कपडा प्रयोग गर्दा बालबालिकालाई रोगबाट टाढा राख्न सकिन्छ । सामान्य रुघाखोकीदेखि गर्मी मौसममा जाडो मौसमभन्दा धेरै किसिमका इन्फ्ल्युएन्जा भाइरल रोगले सताउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले जानकारी दिए। उनका अनुसार गर्मीमा सबैभन्दा बढी सङ्क्रमण पानीबाट हुने गर्छ । त्योसँगै गर्मी मौसममा बढी हावा चल्ने हुन्छ । हावाले उडाएर ल्याउने धुलोका कारण छाला र आँखामा पनि समस्या देखापर्ने गर्छ । वायुमण्डलमा भएको धुलो र प्रदूषित पानीका कारण टाइफाइड, हैजा, निमोनिया, घाउखटिरा तथा मेनेन्जाइटिसजस्ता रोगले पनि बालबालिकालाई सताउने उनको अनुभव छ । आजकाे गाेरखापत्रमा खबर छ।