NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कोरोनाको चपेटामा भारत, एकैदिन थपिए १ लाख ६८ हजारभन्दा बढी संक्रमित

नयाँदिल्ली । भारतमा एकैदिन १ लाख ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । गत डिसेम्बरमा दिनमा १५ हजारको संख्यामा मात्रै संक्रमित देखिने गरेका थिए । तर सोमबारको आँकडा त्यसयताकै सर्वाधिक रहेको मन्त्रालयको भनाइ छ । योसँगै हालसम्म भारतमा १ करोड ३५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १ करोड २१ लाख ५६ हजारभन्दा बढी निको भइसकेका छन् । सोमबार कोरोनाकै कारण भारतमा ९ सय ४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ७० हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । यो संख्या कूल संक्रमितको १.२६ प्रतिशत हो । केही सातायता कोरोना संक्रमण व्यापक भइरहेको भारतमा खोप अभियानलाई समेत गतिशील बनाइएको छ । मन्त्रालयका अनुसार १० करोड ४५ लाख २८ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइसकिएको छ । महाराष्ट्रमा लकडाउनबारे १४ अप्रिलपछि मात्रै निर्णयकोरोनाको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा लकडाउन थप गर्ने विषयमा १४ अप्रिलपछि मात्रै निर्णय लिइने भएको छ । आइतबार कोभिड-१९ टास्क फोर्सको विशेष बैठकपछि प्रदेश स्वास्थ्यमन्त्री राजेश टोपेले लकडाउन थप्ने/नथप्ने विषयमा १४ अप्रिलपछि मात्रै निर्णय लिइने बताएका हुन् । टास्क फोर्सले भने राज्य सरकारलाई लकडाउन जारी राख्न सुझाएको छ । मन्त्री टोपेका अनुसार लकडाउनले पार्ने असर र कति समयसम्म यसलाई लम्ब्याउन सकिने भन्ने विषयमा निर्णयमा पुग्न मुख्यमन्त्री उद्धव ठाकरे छलफलमा छन् । बढ्दो संक्रमणका बीच राज्यमा लगाइएको रात्रिकालीन कर्फ्यू अझै कायम छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले ७० प्रतिशतभन्दा बढी सक्रिय संक्रमित ५ वटा राज्यमा मात्रै रहेको जनाएको छ । ति राज्यहरुमा महाराष्ट्र, छत्तीसगढ, कर्नाटक, उत्तर प्रदेश र केरल छन् । यसमध्ये पनि महाराष्ट्रमा निकै खराब अवस्था छ । देशकै कूल सक्रिय संक्रमितमध्ये ४८ प्रतिशतभन्दा बढी महाराष्ट्रका छन् । मृत्यु हुनेको संख्या पनि यहीं बढी छ । अन्तिम संस्कारका लागि घन्टौ लाइनकोरोना संक्रमणको पछिल्लो लहरका कारण भारतका विभिन्न राज्यमा औषधि-उपचारमा मात्रै होइन, अन्तिम संस्कारमा समेत समस्या खडा भएको छ । उत्तर प्रदेश र मध्य प्रदेशका धेरै जिल्लामा संक्रमितको शव जलाउन घन्टौसम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको बताइएको छ । उत्तर प्रदेशको राजधानी लखनऊमा अन्तिम संस्कारका लागि पालो कुरिरहेका संक्रमितको शव बोकेका वाहन । तस्बिर : समिरात्मज मिश्र स्थानीय पत्रकार समिरात्मज मिश्रले बीबीसीसँग भनेका छन्, ‘उत्तर प्रदेशमा जुन अवस्था देखिएको छ यो सरकारी आँकडाभन्दा फरक छ । कोरोना संक्रमणका कारण ज्यान गुमाएकाको अन्त्येष्टि गर्न उनीहरुका परिवारले टोकन लिएपछि ८-१० घन्टासम्म पालो कुर्नुपरिरहेको छ ।’ उत्तर प्रदेशको राजधानी लखनऊस्थित बैकुन्ठ धाम विद्युत शवदाह गृहमा दिनमै करीब २५ शवको अन्तिम संस्कार भइरहेको छ । जसका लागि घन्टौ लाइनमा बस्नपर्ने अवस्था रहेको त्यहाँका कर्मचारी मुन्ना सिंहले समेत पुष्टि गरेका छन् । विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गर्न करीब ४५ मिनेट समय लाग्छ । तर सरकारी तथ्यांकअनुसार अप्रिलमा लखनऊमा दैनिक औसतमा ५-८ जनाको मात्र मृत्यु भइरहेको छ । उक्त तथ्यांकलाई बैकुन्ठ धाम शवदाह गृहकै तथ्यांकले गलत सावित गरिदिन्छ । सिंहले भनेका छन्, ‘होलीपछि दैनिक अन्तिम संस्कार गर्नेको संख्या लगातार बढिरहेको छ । अधिकतम शव स्थानीय केजीएमयू अस्पतालबाट आइरहेका छन् । जसका लागि बिहान ३/४ बजेसम्मको समय लागिरहेको छ ।’ यहाँ स्वास्थ्य मापदण्ड मालना गर्दै अधिकांश कोरोना संक्रमितको मात्रै अन्तिम संस्कार भइरहेको छ । राज्यको मुख्य चिकित्सा अधिकारीका अनुसार लखनऊमा मात्रै पछिल्लो ३ दिनमा २० जना कोरोना संक्रमितको मात्रै मृत्यु भएको छ । तर स्थानीय शमसान घाटहरुमा ६० जनाभन्दा बढी संक्रमितको शव जलाई सकिएको छ । लखनऊका उच्च नगर आयुक्त अमित कुमारका अनुसार गुल्लारा घाट र बैकुन्ठ धाममा गरी ३ वटा शवदाह मेसिन छन् । केही दिनयता संक्रमितको शवको चाप बढ्दै जाँदा अन्तिम संस्कारका लागि २-३ घन्टासम्म कुर्न परिरहेको छ । मध्यप्रदेशको राजधानी भोपालमा समेत संक्रमितको शव थुप्रिन थालेका छन् । स्थानीय भदभदा विश्राम घाटमा आइतबार मात्रै कोरोनाका कारण ज्यान गुमाएका ३१ जनाको अन्तिम संस्कार गरिएको छ । यहाँ पनि कम्तिमा २ घन्टासम्म पालो पर्खिनुपरेको मृतकका परिवारलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । ‘स्थिति लगातार बिग्रिरहेको छ,’ भदभदा विश्राम घाटका प्रबन्धक लाड सिंहले बीबीसीसँग भनेका छन्, ‘अवस्थालाई नियन्त्रणमा राख्न एकै समयमा कैयौं शव जलाउने गरिएको छ । यसअघि तोकिएका स्थान अपुग भएपछि नयाँ स्थान बनाएर समेत अन्तिम संस्कार गरिएको छ ।’