NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

वैशाख २ मा बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ मा मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठाैं पटक बोडेका ४८ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । गत वर्ष कोरोना महामारीका कारण जात्रा सञ्चालन हुन नसक्दा इतिहासमै पहिलोपटक रोकिएको यो जात्राले यस वर्ष निरन्तरता पाउने भएपछि जिब्रो छेड्न उनी तयार भएका हुन् । उनले यसअघि २०६१ देखि २०६४ सम्म तथा २०७३ देखि २०७५ सम्म गरी ७ पटक जिब्रो छेडिसकेका छन् । मध्यपुरथिमिले सञ्चालन गरेको नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रुपमा कार्यरत उनी कोरोना महामारी सुरु भएसँगै संक्रमित बिरामी मात्रै बोक्ने आइसोलेटेड एम्बुलेन्स चलाएर सेवामा खटिँदै आएका छन् । ‘मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको मैले गत वर्ष कोरोनाका कारण जात्रा रोकिएकाले जिब्रो छेड्न पाइनँ, यस वर्ष वैशाख २ मा आठौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने निर्णय गरेको छु,’ बुद्धकृष्णले भने, ‘एम्बुलेन्स चलाएर बिरामीको सेवा पनि गरिरहेको छु ।’ नगरपालिकाले यस वर्ष बिस्केटका कुनै पनि जात्रा र पर्व नरोकिने सूचना जारी गरेपछि मध्यपुरथिमिमा मनाइने सबै जात्रा सञ्चालन हुने भएका हुन् । नगर प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोनाको बाहनामा यस वर्ष यहाँका कुनै पनि जात्रा पर्व नरोकिने बताउँदै सबै जात्रामा उत्साहपूर्वक सहभागिताका लागि नागरिकलाई आह्वान गरेका छन् । नगर प्रमुख श्रेष्ठले भने, ‘यस वर्ष कुनै जात्रा रोकिँदैन, नेवार समुदायको कला, संस्कृति र इतिहास बोकेको जात्रा पर्व कुनै बाहनामा रोकिनु हुँदैन, थिमिको सबै जात्रा यथास्थितिमै चल्छ र चलाउँछौं ।’ नगरपालिकाले जात्रा नरोक्ने भएपछि बुद्धकृष्णले जिब्रो छेड्न आवश्यक तान्त्रिक विधि पूरा गर्दै आएका छन् भने १० इञ्च लामो सुइरो बनाएर कर्मी नाइकेले तेलमा डुबाएर राखेका छन् । ‘परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा सयौँ वर्षदेखि अहिलेसम्म देशमा जस्तोसुकै सङ्कट आउँदा पनि रोकिएको थिएन, गत वर्ष रोकियो, अब रोक्दैनौं,’ बुद्धकृष्णले भने । जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरले प्राचीन गणेश मन्दिर परिसरमा हजारौं भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । १०६ वर्षयता १२ जनाले निरन्तर जिब्रो छेडेका छन् । विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले ३ पटक, २०२७ र २०२८ मा इन्द्रबाटा श्रेष्ठले जिब्रो छेडेका थिए । त्यस्तै, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले ३ पटक, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले ७, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले ७, २०४७ मा मुनि घों श्रेष्ठले, २०४८ मा धर्मराज बलाय श्रेष्ठले, २०४९ देखि २०६० सम्म १२ पटक कृष्णचन्द्र बाग श्रेष्ठले तथा जुजुभाई बासँ श्रेष्ठले २०६५ देखि २०७२ सम्म ८ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका छन् । (रासस)