NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

संविधान बचाउन राष्ट्रिय सहमतिको सरकार बनाऔं : प्रदीप गिरी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले संविधान बचाउनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक रहेको बताएका छन् । संसद्को विशेष समयमा बोल्दै उनले यही संविधानमा टेकेर अगाडि बढ्नुपर्ने हो भने राष्ट्रिय सहमतिको विकल्प नभएको बताए । उनले भने, ‘आज म सबैभन्दा पहिले यस सदनका माध्यमबाट राष्ट्रिय सहमतिका लागि आह्वान गर्न चाहन्छु । को प्रधानमन्त्री बन्ने भन्ने कुरामा मानौं प्रधानमन्त्री सडकमा फ्याकिएको छ । शेरबहादुर देउवा, महन्थ ठाकुर, पुष्पकमल दाहाल प्रचण्ड, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली त चिरञ्जीवि भइहाल्ने कुरा आएको छ । प्रश्न सरकारको होइन, सरकारको नेतृत्व कसले गर्छ भन्ने होइन ।’ उनले उत्कृष्ट भनिएको २०४७ को संविधान बिजोगको स्थितिमा पुगेको स्मरण गराउँदै अहिले यही संविधानलाई नै बचाउन भए पनि राष्ट्रिय सहमति आवश्यक रहेको बताए । ‘यो संविधानलाई बचाएर अगाडि बढ्ने हो कि २०४७ सालको संविधानजस्तै विजोग गर्ने हो ?,’ उनले प्रश्न गरे, ‘अथवा चुच्चे नक्साजस्तै विजोगमा लैजाने हो ।’ उनले चुनावमा जाने भए सबै मिलेर जानुपर्ने बताए । तर चुनावमा जाँदा सहमतिमा जानुपर्ने उनको भनाइ छ। सानो समूहले २०४७ सालको संविधान नमानेर आजको अवस्था आइपरेको उनले बताए ।