NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

सरकारलाई गुप्तचरको सुझाव : विप्लवका अपराधिक गतिविधि जारी छ, सुरक्षा निगरानी बढाउनु

काठमाडौं । गुप्तचर निकायले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अपराधिक र हिंसात्मक घटनालाई सक्रिय बनाएको रिर्पोट दिएको छ । सुरक्षा निकायको गुप्तचर विभागले विप्लव समूहले सरकारसँगको वार्ता र सहमतिलाई शक्ति आर्जन र पक्राउ परेका नेता कार्यकर्ता रिहा गराउने अवसरका रुपमा मात्र लिएको रिर्पोट तयार पारेर सरकारलाई बुझाएको हो । गुप्तचर रिर्पोट अनुसार जिल्ला–जिल्लामा रहेका विप्लवका नेता कार्यकर्ताहरु अवैध चन्दा अशुलीमा सक्रिय रहेको खुलासा भएको छ । विप्लव समूहका गतिविधि थप अराजक र अपराधिक बन्दै गएको उल्लेख छ । नेपाल सरकारलाई बुझाइएको उक्त गोप्य रिपोर्टमा विप्लवले आफ्ना नेता कार्यकर्ता रिहाइ गर्ने बाहनाका लागि मात्रै सहमति गरेको दावी गर्दै उनीहरुमाथि सुरक्षा निगरानी बढाउन सुझाव समेत दिएको छ । जनप्रतिनिधि, कर्मचारी, व्यापारीलाई हातहतियार देखाउँदै चन्दा अशुली गर्ने कार्यमा अझै पनि उनीहरु सक्रिय छन्, रिपोर्टमा भनिएको छ, ‘ उनीहरुका गतिविधि निकै शंकास्पद देखिएको छ, त्यसकारण उनीहरुमाथि निगरानी बढाउनुपर्ने र सुरक्षा सतर्कता बढाउन आवश्यक छ ।’ सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपछि उक्त समूहका महासचिव नेत्रविक्रम चन्दले शान्तिपूर्ण राजनीति गर्ने प्रतिवद्धता जनाएका थिए । २० फागुनमा सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि चन्दले सामूहिक रुपमा शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको घोषणा गरेका थिए । त्यतिबेला विप्लव समूहसँग भएका हातहतियार व्यवस्थापन नगरेरै सहमति भएको भन्दै आलोचना पनि भयो ।सरकारसँग सहमति भएको एक महिना पनि पुरा नहुँदै सुरक्षा निकायले विप्लवका कार्यकर्ताले हिंसात्मक गतिविधि बढाएको रिर्पोट सरकारलाई बुझाएको हो । सार्वजनिक भई मूल धारको राजनीतिमा आइ आफ्ना गतिविधि सञ्चालन गर्दै आएकोमा पछिल्लो समय उक्त समूहका नेता कार्यकर्ताहरु स्थानीय तहका जनप्रतिनिधि, व्यापारी, कर्मचारीलाई लक्षित गरी डर, त्रास, धम्की दिँदै पुनः चन्दा संकलन कार्यमा संलग्न भएको पाइएको छ’, सरकारलाई बुझाइएको उक्त रिपोर्टमा भनिएको छ । रिपोर्टमा जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाइ गर्ने र आफ्नो संगठन सुदृढका लागि मात्रै बाहना गरी सहमतिमा आएको हुनसक्ने आशंका गरिएको छ । रिपोर्टमा भनिएको छ, ‘समूहले शान्तिपूर्ण राजनैतिक मूलधारमा आउने बहानामा आफ्ना बन्दी रिहाइ गर्ने र कमजोर भएको संगठनलाई सुदृढ गर्ने अवसरको रुपमा सदुपयोग गर्नसक्ने देखिएको छ ।’ उनीहरुका गतिविधि निकै शंकास्पद देखिएकाले गम्भीर भएर सोच्न सुझाव दिइएको छ । साथै उनीहरुमाथि निगरानी बढाउनुपर्ने र सुरक्षा सतर्कता बढाउन पनि रिपोर्टमा भनिएको छ । ‘सरकारले गम्भिरतापूर्वक यसलाई मनन गर्दै उक्त समूहका गतिविधिहरुमाथि सुक्ष्म निगरानी बढाउनुका साथै सुरक्षा सतर्कता बढाउनुपर्ने देखिन्छ’, रिपोर्टमा भनिएको छ । सहमतिपछि हतियारबारे प्रश्न उठ्दा उक्त समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफूहरुसँग कुनै हतियार नभएको बताएका थिए । उनले आफ्ना कार्यकर्ताहरु अब शान्तिपूर्ण राजनीतिमा होमिएको बताएका थिए । तर, गुप्तचर विभागले सरकारलाई विप्लव समूहका गतिविधिमाथि कडा निगरानी राख्न र सुरक्षा खतरा उत्तिकै रहेको रिपोर्ट पठाएको छ ।