NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

गोरखा भूकम्पको ६ वर्ष : ६ लाख ३८ हजार घर बने, अरु केमा कति प्रगति ?

काठमाडौं । २०७२ वैशाख १२ को गोरखा भूकम्पले भत्किएका करीब १० लाख घरमध्ये ६ लाख ३८ हजार ५४० घर पुनर्निर्माण भएका छन् । ६ वर्षअघिको भूकम्पले घर भत्किएर समस्यामा परेका ८ लाख ११ हजार ७५४ घरधनीले पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राही सूचीमा समावेश भएर सम्झौता गरेका छन् । हालसम्म ८ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझेका छन् । ७ लाख ४ हजार ४६७ लाभग्राहीले दोस्रो किस्तावापत १ लाख रुपैयाँ लिएका छन् । घर सम्पन्न गरेर ६ लाख ३८ हजार ५४० लाभग्राहीले तेस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँ लिएका छन् । चालु आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणका मूलभूत काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । गोरखा भूकम्पको छैटौं स्मृति दिवसका अवसरमा प्राधिकरणले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणका क्रममा ६ लाख ३४ हजार ९७३ गुनासा आएकामा ती सबैको सम्बोधन गरिएको दाबी गरे । उनका अनुसार प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझेमा जिल्ला तहमै पुनरावेदन दर्ता गरी पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ । जोखिम एवं विपन्न वर्गका लाभग्राहीहरुको घर पुनर्निर्माणमा प्राधिकरणले करिब ९०० घुम्ती डकर्मी र २५४ सामाजिक परिचालक परिचालनसहित विशेष अभियान अघि बढाएको छ । साझेदार संस्थालाई पनि यस कार्यमा परिचालन गरिएको छ । व्यापक अभियानका साथ जोखिम वर्गका लाभग्राहीको घर पुनर्निर्माण भइरहेको जनाइएको छ । भूकम्पपछि २९९ वटा असुरक्षित स्थानमा रहेका ४ हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाइएको छ । १२ हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए । क्षतिग्रस्त ४९३ सम्पदा पुनर्निर्माणक्षतिग्रस्त ९२० मध्ये ४९३ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । अहिले २८८ सम्पदा पुनर्निर्माण भइरहेका छन् । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको छ । धरहरा आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् । राष्ट्रको मुख्य प्रशासनिक भवन सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भाग प्रबलीकरण भई गत फागुन ३ मा उद्घाटन भएको छ । फागुनदेखि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मूल भवनबाट नै सञ्चालन भएको छ । केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी सङ्ग्रहालय क्षेत्रमा रहेको रणोद्दीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारको जीर्णोद्धार जारी छ । बृहत्तर रानीपोखरी–टुँडिखेल–रत्नपार्क–खुल्लामञ्च–भृकुटीमण्डप–रङ्गशाला–लोकतान्त्रिक सङ्ग्रहालय, नारायणहिटी सङ्ग्रहालय, गोरखा एवं नुवाकोट दरबार क्षेत्र एवं उपत्यकाका सातवटै पुरातात्विक सम्पदाको गुरुयोजना स्वीकृतिको चरणमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । भूकम्पले क्षति भई मर्मत गर्नुपर्ने ४०२ मध्ये २९४ वटा गुम्बाको मर्मत सम्पन्न भएका छन् । पुनर्निर्माण गर्नुपर्ने ८९५ मध्ये १०० वर्षभन्दा पुराना र दुई हजार वर्ग फिटभन्दा बढी ‘प्लिन्थ एरिया’ भएका २६४ वटा गुम्बामध्ये ३६ वटा र १०० वर्षभन्दा कम र दुई हजार वर्ग फिटभन्दा मुनिका ६३१ गुम्बामध्ये १०१ को पुनर्निर्माण अघि बढेको छ । क्षतिग्रस्त ८३ प्रतिशत विद्यालय बनेभूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । हाल बाँकी १७ प्रतिशत विद्यालयको पुनर्निर्माण भइरहेको छ । विद्यालयको पुनर्निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । भूकम्पले क्षतिग्रस्त कुल १ हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनर्निर्माण सम्पन्न भएको छ । अहिले २९६ स्वास्थ्य संस्थाको पुनर्निर्माण जारी छ । क्षति पुगेका कुल ४१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ । प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २१६ वटा संरचनामध्ये २१४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ । विभिन्न जिल्लामा भूकम्पले असर गरेका ७६२ किमि सडक पुनर्निर्माण गर्नुपर्नेमा ५२५ किमि सडक बनेको छ । बाँकी सडकको पुनर्निर्माण यसै आवभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । गत वर्ष कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएपछि कार्यसम्पादनमा अवरोध उत्पन्न भएकाले सरकारले प्राधिकरणको कार्यावधि २०७८ पुससम्म एक वर्ष थप गरेको छ । थपिएको एक वर्षमध्ये २०७८ असार मसान्तसम्मको अवधिमा प्राधिकरणले नियमित काम गर्नेछ । २०७८ साउन १ देखि पुस १० सम्म रानीपोखरी, धरहरा, सिंहदरबारको पश्चिम खण्ड र नारायणहिटी सङ्ग्रहालयभित्रको रणोद्दिपको दरबार पुनर्निर्माणबाहेक सबै योजना तथा कार्यक्रम सम्बन्धित मन्त्रालय वा निकायमा हस्तान्तरण गर्ने योजना छ । दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको ४१० अर्ब रुपैयाँमध्ये ६७ अर्ब राहत तथा उद्धारमा खर्च भएको छ । भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएको छ । वास्तविक प्रतिबद्धता रकम २९४ अर्ब रुपैयाँ मात्र रहेको प्राधिकरणले जनाएको छ ।यसमध्ये २४३ अर्बका लागि सम्झौता भई स्रोत सुनिश्चित भएको छ । गैरसरकारी संस्थासँग करीब ९० अर्ब रुपैयाँ परिचालनका लागि सम्झौता भई करीब ७२ अर्ब रुपैयाँ परिचालन भएको छ । नेपालको पुनर्निर्माणमा दातृ निकायबाट प्रतिबद्धता भएको शतप्रतिशत रकम परिचालन हुने सुनिश्चित भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनामा नेपालले प्राप्त गरेको उपलब्धिलाई विश्व समुदायले विभिन्न अवसर र मञ्चमा प्रशंसा गरेको प्राधिकरणको भनाइ छ । अनुभव र सिकाइ अन्य मुलुकका निम्ति पनि अनुकरणीय हुने विश्वासले नेपाल सरकारद्वारा प्रस्तावित सगरमाथा संवादको सन्दर्भ पारेर आगामी सन् २०२१ को नोभेम्बर अन्तिम साता वा डिसेम्बर पहिलो साताभित्र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी प्राधिकरणले गरेको छ । २०७२ वैशाख १२ मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्पका कारण ८ हजार ९७९ जनाको निधन भएको थियो । यो विपद्‌मा परी २२ हजार ३०९ जना घाइते भएका थिए । (समाचार : पूर्णप्रसाद मिश्र/रासस‍‌ + तस्बिर : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण)