NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

बाँकेमा अनियन्त्रित बन्दै कोरोना संक्रमण, २४ घण्टामा सात संक्रमितको मृत्यु

काठमाडौं । बाँके कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणको हटस्पट बनिसकेको छ । संक्रमितको संख्यामा बढोत्तरीका साथै मृत्युदर पनि निकै उच्च रहेको छ । गत २४ घण्टाको अवधिमा बाँकेमा मात्रै सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहानै नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज–१० का ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि बैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा उनलाई भर्ना गरिएको थियो । अस्पताल प्रशासनका अनुसार शनिबार १ बजेर २१ मिनेटमा उनको मृत्यु भएको थियो । कोरोना फोकल पर्सन तेज वलीका अनुसार गत २४ घण्टाको अवधिमा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जानकी गाउँपालिका–१ की ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ का २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यानका ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको थियो । यस्तै, राजापुर नगरपालिका–९ बर्दियाका ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ ६५ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको थियो । यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोकका ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको वलीले जानकारी दिए । योसँगै कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म मृत्यु हुनेको संख्या ७६ पुगेको छ । यस्तै, भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा शनिबार थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २६९ जनाको स्वाब परीक्षण गर्दा २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको फोकल पर्सन वलीले जानकारी दिए । यस्तै शुक्रबार राति ११ बजे दाङमा पनि थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना विशेष अस्पताल घोराहीमा उपचाररत ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । बाँके प्रशासनले कोरोना संक्रमण अब नियन्त्रणबाहिर गएको बताएको छ । नाकामा दैनिक हजारौंको संख्यामा नेपाल भित्रिन लागेकाहरुलाई सम्हाल्न मुस्किल भइरहेका बेला सैयौंको संख्यामा कोरोना पुष्टि हुनुले स्थिति काबु बाहिर जान थालेको प्रशासनले बताएको छ ।