NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

दिल्लीमा अक्सिजन ढुवानीमा बाधा पुर्‌याउनेलाई फाँसी दिने अदालतको फैसला

काठमाडौं । उच्च अदालत दिल्लीले अस्पतालमा अक्सिजन ढुवानीमा बाधा उत्पन्न गर्नेलाई फाँसी दिने निर्णय सुनाएको छ । अक्सिजन अभावका कारण दैनिक मृत्युदर बढ्न थालेपछि अदालतले आक्रोशपूर्ण फैसला गरेकाे हाे । ‘जसले अस्पतालमा अक्सिजन ढुवानीमा बाधा उत्पन्न गर्नेछ, उसलाई फाँसीमा झुण्ड्याइनेछ,’ अदालतको आदेशमा भनिएको छ । न्यायाधीश विपिन साँघी र रेखा पल्लीको इजलाशले कोभिडका गम्भीर बिरामीको उपचारका क्रममा भइरहेको अक्सिजन कमीमाथि परेको रिटमा सुनुवाइपछि यस्तो फैसला सुनाएको हो । अपीलकर्ता महाराजा अग्रसेनले अस्पतालहरुका तर्फबाट रिट दायर गरेका थिए । दिल्लीका नागरिकले अक्सिजन पाउन नसकिरहेको मुद्दामा अदालतले भनेको छ, ‘यो आपराधिक स्थिति हो । यदि कसैले अक्सिजन ढुवानी रोक्छ भने, त्यसलाई कुनै पनि हालतमा छाडिने छैन, फाँसीमा झुण्ड्याइनेछ ।’ अदालतले अक्सिजन अभावलाई लिएर उठाइएका कदमप्रति पनि असन्तुष्टि जनाएको छ । अदालतले चाहे ठूला अधिकारी हुन् या सानो तहका कर्मचारी, अक्सिजन अभाव सिर्जना गर्नेलाई कुनै पनि हालतमा नछाड्ने स्पष्ट पारेको छ । ‘मानिसलाई अक्सिजन परिपूर्ति गर्नका लागि केन्द्र सरकारले अझै कडाइका साथ कदम उठाउन आवश्यक छ । जीवन मानिसको मौलिक अधिकार हो,’ अदालतको आदेशमा भनिएको छ । अदालतले दिल्ली सरकारसँग अक्सिजन ढुवानीमा बाधा उत्पन्न गराउनेको जानकारी पनि मागेको छ । आदेशमा अघि भनिएको छ, ‘हामी कसैलाई पनि छाड्ने छैनौं । दिल्ली सरकारले स्थानीय प्रशासनका अधिकारीबारे पनि केन्द्र सरकारलाई जानकारी दिनुपर्नेछ ताकि जसले अभाव सिर्जना गर्न खोजिरहेका छन्, उनीहरुविरुद्ध कारबाही गर्न सकियोस् ।’ सुनुवाइका क्रममा इजलाशले दिल्ली सरकारसँग समयमै अक्सिजन नमिल्नुको कारण सोधेको छ । यसका लागि सरकारलाई आफ्नै अक्सिजन प्लान्ट किन नबनाएको भन्दै प्रश्न पनि गरेको छ । यस्तै, केन्द्र सरकारसँग पनि दिल्लीमा कति अक्सिजन आवश्यक हो भनेर जानकारी माग गरेको छ । न्यायाधीश साँघीले भने, ‘हामीले धेरै दिनदेखि सुनुवाइ गरिरहेका छौं । दैनिक एकै प्रकारको कुरा सुनिरहेका छौं । अखबार र च्यानलहरुमा अवस्था गम्भीर रहेको बताइँदै छ । यसकारण केन्द्र सरकारले यो बताउनुपर्छ कि दिल्लीमा कहिलेसम्म र कति अक्सिजन ढुवानी हुनेछ ।’ (एजेन्सी)