NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

क्लोइ चाउले हात पारिन् ओस्करको सर्वश्रेष्ठ निर्देशक अवार्ड

एजेन्सी । फिल्म निर्देशक क्लोइ चाउले सर्वश्रेष्ठ निर्देशकतर्फ यस वर्षको ओस्कर अवार्ड हात पारेकी छन् । ९३ वर्षको ओस्कर इतिहासमा यो अवार्ड पाउने उनी दोस्रो महिला हुन् । यसअघि ‘हर्टलकर’ बाट क्याथरिन बिगेलोले यो अवार्ड जितेकी थिइन् । चाओलाई फिल्म ‘नोम्याडल्याड’ का लागि सर्वश्रेष्ठ निर्देशकको अवार्ड प्रदान गरिएको हो । कोरोना संक्रमणको जोखिमका बीच अमेरिकाको लस एन्जलसमा गएराति विश्वकै सर्वाधिक प्रतिष्ठित फिल्म अवार्ड वितरण समारोह ओस्करको आयोजना गरिएको थियो । यो पटक डल्बी थिएटर र युनियन स्टेसन गरी दुई स्थानमा ओस्करको समारोह गरियो । सन् २००१ देखि ओस्करको आयोजन डल्बी थिएटरमा हुँदै आइरहेको छ । यस अलावा बेलायत र फ्रान्सका कलाकारका लागि पनि लन्डन र पेरिसमा पनि छुट्टै स्थान तोकिएको छ । यो वर्ष महामारीको जोखिम रहे पनि समारोह भर्चुअल आयो‍जना नगरिने यसअघि नै स्पष्ट पारिएको थियो । नोम्याडल्यान्ड सन् २०१७ मा प्रकाशित जेसिका ब्रुडरको गैरआख्यान ‘नोम्याडल्यान्ड : सर्भाइभिङ अमेरिका इन द ट्वेन्टी-फर्स्ट सेन्चुरी’ मा आधारित भएर निर्माण गरिएको चलचित्र हो । नोम्याडल्यान्डमा अमेरिकाको आर्थिक मन्दीमा आफ्नो सबै कुरा गुमाएकी ६० वर्षीया महिलाले एउटा गाडीमै कसरी आफ्नो जीवन गुजार्छिन् भन्ने देखाइएको छ । यो फिल्मले यसअघि गोल्डेन ग्लोब, बाफ्टा र एडिटर्स गिल्ड अवार्ड जितिसकेको छ । ‘यो दुनियाँमा मैले जहाँ जसलाई पनि भेटेको छु, राम्रो मात्रै पाएको छु । यो अवार्ड उनैका लागि हो जो राम्रो बनिरहन सकिन्छ भन्नेमा विश्वास राख्छन्, जस्तोसुकै मुश्किलमा पनि राम्रोका लागि संघर्ष गरिरहन्छन्,’ अवार्ड प्राप्त गरेपछि चाउले भनिन्, ‘यो अवार्ड तपाईंहरु सबैका लागि हो, जसले मलाई प्रेरणा दिइरहनुभएको छ ।’ यो वर्ष सर्वोत्कृष्ट फिल्मका लागि द फादर, जुडाज एन्ड ब्ल्याक मेसिहा, म्यांक, मिनारी, नोम्याडल्यान्ड, प्रमिसिङ योङ वुमन, साउन्ड अफ मेटल र द ट्रायल अफ शिकागो मनोनयनमा परेका थिए । सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड फ्रान्सेस म्याकडोरमेन्डले नोम्याडल्यान्डबाटै हात पारिन् । सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने चलचित्र ‘द फादर’ बाट एन्थोनी होप्किन्सले प्राप्त गरे । सर्वोत्कृष्ट अभिनेत्रीतर्फ म्याकडोरमेन्डसहित रेनिज ब्ल्याक बटम चलचित्रकी विओला डेविस, युनाइटेड स्टेट्स भर्सेस बिली होलिडेकी एन्ड्रा डे को, पीस अफ वुमनकी वेनेसा किर्बी र प्रमिसिङ वुमनकी कैरी मिलिगन अन्तिम मनोनयनमा परेका थिए । साउन्ड अफ मेटल फिल्मबाट रिज अहमद, ब्ल्याक ब्याटलबाट च्याडविक बोसम्यान, द फादरबाट अन्टोनी होप्किन्स, म्याकबाट ग्यारी गोल्डम्यान र मिनारीबाट स्टिल येउन पनि ओस्करको सर्वोत्कृष्ट अभिनेतातर्फ अन्तिम दौडमा थिए । पाकिस्तानमा जन्मिएका बेलायती अभिनेता रिज अहमद सर्वोत्कृष्ट अभिनेतातर्फ ओस्करको मनोनयनमा पर्ने पहिलो मुसलमान हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष