NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

खोप लगाएपछि संक्रमणको जोखिम कति ?

काठमाडौं । नेपालमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु हुँदै गर्दा भाइरसविरुद्धको खोप लगाउने क्रम पनि जारी छ । हाल दोस्रो डोजको खोप लगाइसकेकालाई पनि संक्रमण भएपछि सर्वसाधारणमा खोपप्रति अन्योल उत्पन्न भएको छ । खासमा खोपको प्रभावकारिता शतप्रतिशत नहुने हुँदा पनि लगाएकामध्ये केहीमा संक्रमण देखिनुलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन् जनस्वास्थ्य विज्ञ डा.शरद वन्त । ‘हामीले पहिलादेखि नै खोपको शतप्रतिशत ग्यारेन्टी हुँदैन भनेर भन्दै आएका छौं । त्यसमाथि पनि हाल नेपालमा प्रयोग भइरहेको खोप सरदर ७० देखि ७५ प्रतिशत सुरक्षित भनिएको छ’, उनले भने, ‘त्यसको मतलव सयमा २५÷३० जना त जोखिममै हुन्छन् । तर जोखिममा को हुन्छन् भन्ने थाहा हुँदैन ।’ त्यसकारण पनि खोप लगाइसकेपछि पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न विज्ञहरूले सुझाएका छन् । तर, खोप लगाइसक्दा पनि संक्रमण भएमा त्यो संक्रमण त्यत्ति गम्भीर नहुने डा.वन्त बताउँछन् । तर, खोपको प्रभावकारिता नै हुँदैन भन्नु गलत भएको उनको ठहर छ । ‘खोपले संक्रमण रोक्नेभन्दा पनि मृत्युदर कम गर्नमा योगदान दिन्छ । खोप लगाएका कुनै व्यक्तिमा संक्रमण देखियो भन्दैमा यसको प्रभावकारिता हुँदैन भन्नु गलत हो,’ उनले भने, ‘खोप शतप्रतिशत होइन, यसले हामीलाई थप सुरक्षामात्रै दिने हो ।’ खोपले कसरी काम गर्छ ? हाम्रो शरीरलाई कुनै पनि किसिमको बिरामी या भाइरसको संक्रमणबाट लड्नका लागि खोपले तयार बनाउँछ । त्यसकारण खोप लगाएको केही समयपछि नै हाम्रो शरीरमा बिमारी या भाइरसविरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ । अमेरिकाको सेन्टर अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी)का अनुसार भ्याक्सिन अन्य औषधिभन्दा निकै शक्तिशाली मानिन्छ । किनभने यो अधिकांश औषधिभन्दा फरक हुन्छ । खोपले कुनै पनि बिमारीको उपचार गर्ने होइन, त्यसलाई हुनुभन्दा पहिल्यै रोक्ने हो । सामान्यतया कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज लिएको दुई हप्तापछि शरीरमा एन्टिबडी विकास हुँदै जान्छ । बेलायतमा ४० हजार जनामा गरिएको अध्ययन अनुसार फाइजर–बायोएनटेकको एक डोजले संंक्रमणको जोखिम ७० प्रतिशतले कम गर्छ र दोस्रो डोज लगाएपछि ८५ प्रतिशत । भारतमा बनेको कोभिसिल्डको अन्तर्राष्ट्रिय ट्रायलको प्रारम्भिक तथ्यांकअनुसार यसले संक्रमणको जोखिम ९० प्रतिशत कम गर्ने जनाइएको छ ।अर्को खोप कोभ्याक्सको तेस्रो चरणको ट्रायलले देखाएअनुसार यसले कोरोना भाइरसबाट ८१ प्रतिशत सुरक्षित बनाउँछ । रुसमा बनेको खोप स्पुतनिकले कोभिड–१९ बाट ९२ प्रतिशत सुरक्षित बनाउने बताइन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष