NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बस्दै, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबुल हुने

काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट सुरू हुँदै छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाएका हुन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन लागेको थाहा पाएपछि वैशाख १ को मध्यरातमा मुख्यमन्त्री गुरुङले संसद्‌को हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेका थिए । तर अविश्वासको प्रस्ताव दर्तासँगै तीन दलले विशेष अधिवेशनका लागि प्रदेश प्रमुखसामु समावेदन दिएका थिए । त्यसकै आधारमा आज विशेष अधिवेशन डाकिएको हो । विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्रीमा प्रस्ताव गरिएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई सुरुमा बोल्न दिनेगरी कार्यसूची तय गरेको छ । त्यसपछि अन्य प्रदेशसभा सदस्यले क्रमशः बोल्नेछन् । अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि मात्र मत विभाजन हुने कार्यसूची छ । २८ जना प्रदेशसभा सदस्यद्वारा हस्ताक्षरित अविश्वास प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसदले भने हस्ताक्षर गरेका थिएनन् । यद्यपि, राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले यसअघि नै ‘अब काँध थापिरहन नसक्ने’ भन्दै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने जनाइसकेका छन् । जनमोर्चाका प्रदेशसभा सदस्य भने पार्टी केन्द्रको निर्णयको विपक्षमा देखिएका थिए । उनीहरुले फ्लोर क्रस गरेमा र एमालेका माधव नेपाल पक्षका सांसदले प्रस्तावको विपक्षमा मतदान गरे मुख्यमन्त्री गुरुङको पद जोगिनेछ । प्रदेशसभामा हाल २७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा छन् । ६० सदस्यीय प्रदेशसभामा बहुमत पुर्‌याउन ३१ मत आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एक जना सांसद छन् ।

ताजा अपडेट

नेपालवाच विशेष