NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

स्वास्थ्य प्रणाली ‘ध्वस्त’ भएको भारतलाई चीनले पठायो ८ सय अक्सिजन कन्सन्ट्रेटर

नयाँदिल्ली । कोरोना महामारीको दोस्रो लहरको चपेटामा परेको भारतले लगातार मेडिकल अक्सिजनको अभाव झेलिरहेको छ । ध्वस्त हुने डिलमा उभिएको स्वास्थ्य प्रणालीलाई मध्येनजर गर्दै केन्द्र र राज्य सरकारहरुले मदतका लागि अन्तर्राष्ट्रिय शक्तिसमक्ष आह्वान गरिरहेका छन् । अक्सिजन आपूर्तिका लागि अन्तराज्य रेल र हवाई सेवा सञ्चालनमा ल्याइएको छ । ओडिशा र छत्तीसगढलगायत राज्यले अन्य राज्यमा अक्सिजन आपूर्ति गर्न विशेष रेलको नै व्यवस्था गरेका छन् । केही राज्यले विदेशबाट समेत अक्सिजन आपूर्ति गर्ने प्रयास गरिरहेका छन् । अक्सिजन अभावकै कारण संक्रमित बिरामीको मृत्यु हुन थालेपछि महामारीको भयावह अवस्थाको आकलनसहित केही अन्तर्राष्ट्रिय शक्तिले भारतलाई सहयोग गर्ने घोषणा गरेका छन् भने केहीले त्यसको सुरुवात समेत गरिसकेका छन् । चीनले हालको खराब अवस्थामा आफू भारतको साथमा रहेको जनाएको छ । चीनले भारतका जनता छिट्टै नै कोरोना भाइरसविरुद्धको लडाइँमा सफल हुने विश्वास समेत व्यक्त गरेको छ । उसले भारतमा अक्सिजन कन्सन्ट्रेटरको पहिलो लट पठाइसकेकाे छ । श्रीलंकाका लागि चिनियाँ राजदूतावासका अनुसार हङकङबाट दिल्लीका लागि ८ सय अक्सिजन कन्सन्ट्रेटर पठाइसकिएको छ । आगामी ७ दिनभित्र थप १० हजार अक्सिजन कन्सन्ट्रेटर भारत ढुवानी गरिँदै छ । फ्रान्सका राष्ट्रपति इम्यान्युअल म्याक्रोले आगामी २ दिनभित्र भारतमा अक्सिजन भेन्टिलेटर पठाउने आइतबार घोषणा गरेका थिए । यसअघि युरोपेली युनियन (ईयू) ले भारतबाट सहयोगको अपील आउने बित्तिकै तत्कालै अत्यावश्यक औषधि र मेडिकल सामग्री पठाउने बताएको थियो । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भारत सरकारसँग मिलर कोरोनाविरुद्ध लडिरहेको बताएका छन् । उनका अनुसार बेलायतले ३ सयभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर र ६ सय मेडिकल सामग्री भारत पठाउँदै छ । ‘भारतमा ९ खेपमा यी सामग्री पठाइनेछ । जसको सुरुवात मंगलबार हुनेछ,’ जोनसनले भनेका छन् । सिंगापुरले पनि भारतलाई ५ सय थान बाइपेप, २५० थान अक्सिजन कन्सन्ट्रेटर र अन्य मेडिकल सामग्री सहयोग गरेको छ । पहिलो चरणमा अत्यावश्यकीय मेडिकल सामग्री लिएर एक विमान सिंगापुरको चंगी अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति मुम्बई उत्रिएको छ । अमेरिकाले कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादनका लागि भारतलाई आवश्यक कच्चापदार्थ आपूर्तिमा लगाएको रोक हटाउने घोषणा गरेको छ । जसका कारण भारतले यसको उत्पादनलाई गति दिन सक्छ । अक्स्फोर्ड विश्वाविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोप सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिका भारतलाई सहयोग गर्न दृढसंकल्प रहेको पनि जनाएका छन् । व्हाइटहाउसबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत ७ दशकदेखि दुवै देश स्वास्थ्य क्षेत्रमा एकअर्काका सहयोगी रहँदै आएका छन् । कोरोना महामारीको सुरुवातमा भारतले अमेरिकामा मेडिकल सामग्री सहयोग गरेको थियो । ठीक उसैगरी अहिले भारतलाई सहयोगको जरुरत परिरहेको छ, यस्तोमा पूर्णरुपमा सहयोग गर्न अमेरिका दृढसंकल्पित छ ।’ असम राज्य सरकारले छिमेकी मुलुक भूटानबाट अक्सिजन आयातको तयारी थालेको छ । आइतबार राज्यका स्वास्थ्यमन्त्री हिमन्त बिस्व शर्माले अक्सिजन अभाव नहुने बताएका थिए । उनले असम राज्य सरकारले भूटानबाट अक्सिजन आयात गर्न लागिरहेको समेत पुष्टि गरे । ‘भूटानमा नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । त्यहाँबाट अक्सिजन आपूर्तिका लागि आजैबाट प्रक्रिया थालिएको छ,’ शर्माले भने, ‘रेमेडेसिभिरलगायत अत्यावश्यक औषधिका लागि पनि राज्य सरकारले औषधि उत्पादक कम्पनीसँग कुरा गरिरहेको छ । पस्लावरी प्लान्टमा मात्रै सातामा ८० हजार रेमेडेसिभिरको भाइल उत्पादन भइरहेको छ । केही हजार बिरामी अस्पतालमा आउँदासम्म यसले धान्छ । यसकारण पनि अहिल्यै राज्यमा लकडाउन लगाउनु पर्ने जरुरी देखिँदैन ।’

ताजा अपडेट

नेपालवाच विशेष