NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नारायणी अस्पतालमा सय सिलिन्डर मात्रै अक्सिजन मौज्दात, प्लान्ट बनाउन छैन तयारी

वीरगन्ज । नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले बाहिरी जिल्लाबाट किन्नुपर्ने बाध्यता छ । कोरोना स‌क्रमणको दोश्रो लहर बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ । नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनैपनि बेला अभाव हुनसक्ने भएकाले यहाँ अक्सिजन प्लान्ट अति आवश्यक रहेको अस्पताल विकास समितिका सदस्य सुरेन्द्र गुप्ताले बताए । पर्सा क्षेत्र नम्बर–२ का सांसद बिमल श्रीवास्तावले आफ्नो संसदीय विकास कोषबाट अक्सिजन प्लान्ट राख्न २ करोड रुपैयाँ वीरगञ्ज महानगरपालिकालाई दिए पनि हालसम्म प्लान्ट स्थापना हुन सकेको छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार ठाकुर भने अस्पतालले आफ्नै खर्चमा अक्सिजन प्लान्ट राख्ने सोच बनाएको बताउँछन् । अस्पतालको मुख्य अक्सिजन सप्लायर्स भाजुरत्नले ढुवानी गर्न नसके समस्या आउने उनको भनाइ छ । उनका अनुसार सप्लार्यसले प्रत्येक दुई घण्टामा मागअनुसारको अक्सिजन सिलिन्डर पठाउने गरेकाले हाल सोको अभाव देखिएको छैन । कोरोना सङ्क्रमित बिरामीलाई होम आइसोलेसनमा जान भनिए पनि उनीहरु घर जान नमान्दा अस्पतालमा चाप बढेको छ । अस्पतालको प्रयोशालामा शुक्रबार गरिएको परीक्षणमा ८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । एक सय ३९ जनाको पीसीआर परीक्षण गर्दा ६३ पुरुष र २३ महिला गरी ८६ जनामा सङ्क्रमण देखिएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । उनका अनुसार अस्पतालमा उपचारका क्रममा चैतयता ८ जनाको मृत्यु भइसकेको छ । निजी अस्पतालमा सङ्घीय सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि थप्ने भनेर रकम पठाइए पनि केही अस्पतालले शय्या नथपेकाले नारायणी अस्पतालमा यस्ता बिरामीको चाप बढ्दै गएको छ । अहिले नारायणी अस्पतालमा बिरामीको उपचार गर्न ४० शय्या छुट्टाइएको छ । जसमध्ये ३१ जना सङ्क्रमित उपचाररत रहेको अस्पतालका मेसु डा. ठाकुरले जानकारी दिए । (रासस)

ताजा अपडेट

नेपालवाच विशेष