NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

स्वास्थ्य मन्त्रालयको अनुगमन टोली संयोजक भन्छन्– नाकामा चुक्दा देशैभर नेपालगन्जकै अवस्था निम्तिने जोखिम छ

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर तीब्र गतिमा फैलिँदैछ । नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण मात्र होइन मृत्यदर पनि उच्च छ । भारतमा एक महिनायता भयावह बन्दै गएको महामारीले नेपाललाई पनि छिट्टै चपेटामा लिएको छ । अहिलेकै गतिमा संक्रमण फैलिरहे नेपालमा पनि छिट्टै भारतकै जस्तो अवस्था आउनसक्ने चेतावनी विज्ञहरूले दिएका छन् । संक्रमण नियन्त्रणका लागि समयमै ठोस पहलकदमी नचाले नेपालमा अस्पतालहरूले धान्न नसक्ने सूचना स्वास्थ्य मन्त्रालयले यसअघि जारी गरिसकेको छ । अहिले सबैभन्दा बढी प्रभावित तराईका जिल्लाहरू छन् । बढी आवतजावत हुने प्रमुख नाका भएका जिल्लामा कोरोना संक्रमण काबुबाहिर गइसकेको छ । सबैभन्दा बढी प्रभावित नेपालगन्ज नै छ । नेपालगन्जका अस्पतालहरू अहिले कोरोना संक्रमितले भरिएका छन् । एक साताको अवधिमै स्थिति नियन्त्रण बाहिर गएपछि स्वास्थ्य मन्त्रालयले कोरोना फोकल पर्सन डा. महेन्द्र श्रेष्ठको संयोजकत्वमा अनुगमन टिम पठाइएको थियो । उक्त टोलीले पनि समुदायमा कोरोना भाइरसको प्रकोप पसिसकेको निश्कर्ष निकालेको छ । अनुगमनको निश्कर्षबारे जानकारी दिँदै डा. श्रेष्ठले भने, ‘अब नेपालगन्ज मात्रै होइन, पूरै देशको हालत उस्तै हुनेवाला छ । सबै तहका सरकारहरू मिलेर आक्रामक रुपमा नियन्त्रणका लागि प्रयास नभए हाम्रो त झन् भारतको भन्दा भयावह हालत हुने देखिन्छ ।’ नेपालगन्जका सरकारी अस्पतालका सबै बेड भरिएका छन् । अब बिरामी राख्ने ठाउँसमेत छैन । निजी अस्पतालहरूसँग पनि प्रशासनले कोभिडका बिरामी राख्नका लागि समन्वय गरिरहेको छ । तर, सीमामा लापरबाही भएकै कारण समुदायमा कोरोनाको फैलावटले तिव्रता लिएको श्रेष्ठको निष्कर्ष छ । ‘हामी सुरुमै नाकामा चुकेकै हौं । भारतमा भयावह स्थिति उत्पन्न भएपछि रोजगारीका लागि गाउँ गएकाहरू धमाधम गाउँ फर्किन थाले । उनीहरूलाई प्रभावकारी चेकजाँचबिनै पठाइएको पाइयो । जसकारण अब नेपालगन्ज मात्रै होइन, बिस्तारै गाउँसम्म पनि यो स्थिति उत्पन्न हुनसक्छ’, नेपालवाचसँग कुरा गर्दै उनले भने । आज प्रशासनमा हुने कोभिड संकट व्यवस्थापन समितिको बैठकमा नेपालगन्जमा अनुगमनका क्रममा भेटिएका कमीकमजोरी र सुधार गर्नुपर्ने कुराबारे श्रेष्ठले जानकारी गराउँदैछन् । उनले अझै पनि नाकामा प्रभावकारी चेकजाँच गर्न सके भयावह हुनबाट बच्न सकिने बताए । ‘मुख्य कमजोरी नाकामै पाइयो । पहिले नै क्वारेन्टाइन वा होल्डिङ सेन्टर नाकामै बनाउनुपथ्र्यो । त्यसले संक्रमितहरू गाउँसम्म पुग्न सक्दैनथे’, उनले भने । नेपालगन्जको अवस्था अनुगमन पछि उनले सरकारले अब मुख्य तीनवटा कदम चाल्नुपर्ने बताए । अझै पनि सीमाबाट आउने क्रम जारी रहेकाले स्वास्थ्यका जनशक्ति नाकामा बढीभन्दा बढी खटाएर चेकजाँच प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । सीमा क्षेत्रमै ठूलो क्षमताको क्वारेन्टाइन बनाउनुपर्ने उनको सुझाव छ । जहाँ जाँचपछि लक्षण देखिएकालाई छुट्टै राख्ने, गम्भीर भएकालाई अस्पताल पठाउने र १४ दिन क्वारेन्टाइन बसेर पनि नेगेटिभ पाइए भने मात्रै घर पाठाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । अहिले नाकामा सामान्य चेकजाँच र हातमा १० वटा मास्क थमाउने काम मात्रै भइरहेको छ । परीक्षणका क्रममा लक्षण नदेखिए १० वटा मास्क थमाएर सिधै घर पठाउने गरिएको छ । यस्तै श्रेष्ठको दोस्रो सुझाव छ, संक्रमितको खोजी गर्नुपर्ने । ‘संक्रमित कहाँ छन् भन्ने कुरा पनि सरकारलाई जानकारी छैन, साँच्चीकै जनताको जीउधन बचाउने हो भने, संक्रमितको व्यापक खोजी गर्नुपर्छ’, उनले भने । यस्तै अर्को सुझाव हो, गम्भीर बिरामीलाई तत्काल उपचारको अवस्था । कतिपयले उपचार नपाएर ज्यान गुमाउने गरेका छन् । ‘सबैलाई छुट्टाछुट्टै क्याटागोरीमा राखेर उपचार विधि अपनाउनुपर्छ । यसो हुँदा उपचार नपाएरै मर्नुपर्ने अवस्था आउँदैन । यसका लागि तीनै तहका सरकार मिलेर एउटा बृहत अभियान नै चलाउन आवश्यक छ’, श्रेष्ठले भने । तर, नेपालगन्जबारे धेरै कुराहरू भ्रामक आएकाले त्यसप्रति सचेत हुन पनि उनले आग्रह गरे । ‘चिकित्सक नै हतोत्साहित बनिसके, अब उपचार गर्न सक्ने स्थिति नै छैन भन्नेजस्ता समाचार आएका छन् । संक्रमण अवश्य नियन्त्रण बाहिर जान थालेको छ । तर, चिकित्सक हतोत्साहित र उपचार नै गर्न त्रसित भएको खबर भने साँचो होइन । उहाँहरू दिनरात जुटिरहनुभएको छ’, फोकल पर्सन श्रेष्ठले भने ।

ताजा अपडेट

नेपालवाच विशेष