NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

एक रुपैयाँको सिक्का छिराउनुस्, प्यास मेटाउनुस्

काठमाडौं । बढ्दो सहरीकरणसँगै बजार क्षेत्रमा खानेपानीको अभाव आम भइसकेको छ । बटुवाहरुले आफ्नो तिर्खा मेटाउन होटलमा छिर्नुपर्ने या त बोतलको पानी खरिद गर्नुपर्छ । केही दशक अघिसम्म रहेका सार्वजनिक धारा तथा कुवाहरु अहिले भेटिँदैनन् । तर, काठमाडौं महानगरले बटुवाको प्यास मेटाउने प्रयास गरेको छ । त्यो पनि स्मार्ट प्रविधिको प्रयोगमा । अब एकछिन्को प्यास मेटाउनकै लागि बटुवाले होटल छिर्नुपर्ने वा २०÷२५ रुपैयाँ खर्च गरेर बोतल नै किन्नुपर्ने छैन । मात्र एक रुपैयाँमा बटुवाले आफ्नो तिर्खा मेटाउन सक्नेछन् । आजबाट काठमाडौँका थप २ ठाउँमा वाटर एटीएम सञ्चालनमा आएका छन् । पहिले वडा १० बानेश्वरको छक्कुपक्कु पार्क र त्यसपछि वडा ४ को शंखपार्कमा महानगरका प्रमुख र उपप्रमुखले संयुक्त रुपमा एटीएम शुभारम्भ रहेका छन् । यसअघि गएको माघ २९ गते शंखघर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भू भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारसँगै वाटर एटीएम स्टेशनहरु सञ्चालनमा ल्याइएका थिए । यो ठाउँलाई महानगरले ‘जरुंहिति’ नाम दिएको छ । बटुवाको प्यास मेटाउन काठमाडौंमा जरुंहिति थिए । घरमा पानी लिएर आउने गृहिणीले यी हितिमा एक–एक अङ्खोरा पानी राखिदिने गर्थे । त्यो पानी पिएर बटुवा प्यास मेटाउँथे । यस्ता स्थानहरु क्रमशः हराउन थालेपछि महानगरले ०७६ चैत ९ गते स्वच्छ पिउने पानी उपलब्ध गराउन स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटीएम) राख्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको थियो । अब प्यास लागे पसलमा गएर एक लिटर नै पानी किन्नु नपर्ने काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए । ‘एकछिनको प्यास मेटाउन २५ रुपैयाँ खर्चेर एक लिटर नै किन्नुपर्दैन । एक रुपैयाँको सिक्का मेसिनमा छिराउनुहोस् । अनि प्यास मेट्नुहोस्’, मेयर शाक्य भने । प्रविधिको प्रयोगबाट शुद्धिकरण गरिएको पानी सस्तो मूल्यमा प्राप्त गर्ने वातावरण बनेको उप–प्रमुख हरिप्रभा खड्कीले बताइन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले उपत्यकाका १५ ठाउँमा यस प्रकारका प्रणाली जडान गर्दैछ । बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाकाअनुसार स्थापनापछिका ३ महिना सञ्चालन व्यवस्थापन खर्चसहित प्रणाली जडानको लागत करिब १५ लाख ८६ हजार रुपैयाँ हो । उपत्यकाका सबै प्रणाली जडान गर्दा करिब २ करोड रुपैयाँ खर्च हुनेछ । अहिलेको प्रणालीभित्रै एक हजार ५ सय लिटरको र त्यससँगै छेउमा ५ हजार लिटरको ट्यांकी राखिएको छ । मेलम्चीको पानी वितरण भएपछि मेलम्चीको पाइप प्रणालीमा सोझै जडान गर्ने योजना छ । महानगरसँगको सम्झौताबमोजिम विभिन्न ठाउँमा जडान गरिएका वाटर एटीएम स्थापना गरेर आउँदो ३ वर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ । महानगरपालिकाले एटीएम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराएको छ । कसरी प्रयोग गर्ने वाटर एटीएम मेसिन ? क) मेसिनमा १ रुपैयाँको सिक्का मात्र चल्छ । ख) गोजीमा सिक्का पैसा छैन भने १० वा ५ रुपैयाँको नोटको सिक्का साट्न सकिन्छ । ग) सिक्का साट्न वाटर भेन्डिङ मेसिन सिक्का साट्ने मेसिन राखिएको छ । घ) साटेको सिक्कामध्ये १ रुपैयाँको सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउनुपर्छ । यसबाट २०० मिलिलिटर पानी अट्ने कागजको कप आउँछ । ङ) कपलाई लगेर धाराको तल राख्ने । च) १ रुपैयाँको सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा छिराउने । छ) यसमा २०० मिलिलिटर शुद्ध पिउने पानी आउँछ । ज) थप पानी खान मन लागे फेरि १ रुपैयाँको सिक्का खसाउँदा २०० मिलिलिटर पानी पाउन सकिन्छ । झ) १ लिटर पानी लिनु परे बोतल थापेर १ रुपैयाँका ५ वटा सिक्का खसाउने । १ लिटर पानी प्राप्त हुन्छ । ञ) प्रयोग गरिसकेको कपलाई कन्टेनरमा फालिदिने ।

ताजा अपडेट

नेपालवाच विशेष