अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्न स्वास्थ्यको उद्योग मन्त्रालयलाई पत्राचार
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोरोना सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो । मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा. समीरकुमार अधिकारीले भारतमा सङ्क्रमणको अवस्था खराब भई अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नाका लागि त्यस्ता उद्योगधन्दा केही समय बन्द गर्न मन्त्रालयलाई आज पत्राचार गरिएको जानकारी दिए । पत्रमा ‘अक्सिजनसहित अक्सिजन सिलिन्डरको कालोबजारी, विदेश पैठारी भई स्वदेशमा अप्ठ्यारो हुने अवस्थाको सिर्जना हुन नदिन, नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिजन सिलिन्डरको व्यवस्था गरिदिनु हुन तथा अस्पतालमा उपचारका लागि प्रयोग हुने अक्सिजन उद्योगधन्दामा केही समयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गर्न’ उल्लेख छ । आइतबार एकै दिन २८ सङ्क्रमितको मृत्यु हुनाका साथै ३ हजार १२२ संक्रमित थपिएका थिए । नेपालमा अहिलेसम्म तीन लाख ११९ सङ्क्रमित, दुई लाख ७७ हजार ५७३ निको र तीन हजार १६४ को मृत्यु भइसकेको छ । (रासस)
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया