NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

काेराेना महामारी : अक्सिजन प्लान्ट बिग्रिए, सिलिन्डरकाे जाेहाे पनि छैन

महामारीविरुद्ध सारा विश्वले संघर्ष गरेको यो एक वर्षमा नेपाल सरकारले न बिग्रिएका अक्सिजन प्लान्ट बनाएको छ, न पर्याप्त सिलिन्डरको जोहो गरेको छ  । अक्सिजन उत्पादनमा आत्मनिर्भर भए पनि अस्पताल–अस्पताल पुर्‍याउन सिलिन्डर अभाव हुने देखिएको छ । उद्यमीहरूले तत्कालै ३० देखि ४० हजार सिलिन्डर आयात गर्न सुझाब दिएका छन्, तर नियमित प्रक्रियाबाट आयात गर्दा यसका लागि करिब दुई महिना लाग्ने देखिएको छ । नेपालमा पूर्व झापादेखि पश्चिम नेपालगन्जसम्म अक्सिजन उद्योग छन् । ती उद्योगले नेपाललाई आवश्यक अक्सिजन आपूर्ति गर्ने प्रतिबद्धता जनाएका छन् । तर, अक्सिजन होइन, सिलिन्डर अभाव हुन सक्ने नेपाल अक्सिजन ग्यास उत्पादक संघको भनाइ छ । खाली भएको सिलिन्डर उद्योगसम्म पुर्याउने र उद्योगबाट अस्पतालसम्म पुर्‍याउन समय लाग्ने भएकाले अधिकांश सिलिन्डर बाटोमै हुन्छन्, बिरामीको सेवामा थोरै मात्र सिलिन्डर लगाउन सकिने उद्योगीहरूको भनाइ छ । ‘सिलिन्डर अभावले समस्या हुन सक्ने देखेर तत्कालै आयातका लागि सरकारलाई सुझाब दिएका छौँ,’ संघका अध्यक्ष गौरव सारडाले नयाँ पत्रिकासँग भने । उद्यमीहरूका अनुसार अहिले अक्सिजन उत्पादन गर्ने पाँच ठूला उद्योगसँग करिब १२ हजार र अन्य १६ उद्योगसँग करिब दुई हजारका दरले अक्सिजन सिलिन्डर छन् । यसरी देशमा करिब ९० हजार सिलिन्डर सञ्चालनमा छन् । तर, यसको निश्चित लेखाजोखा अहिलेसम्म भएको छैन । संघले स्वास्थ्य मन्त्रालयलाई तत्काल ३०–४० हजार थान सिलिन्डर आयात गर्न सुझाब दिएको छ । कोभिडको महामारी बढ्दै गएको अवस्थामा अक्सिजनको चरम संकट हुन सक्ने भन्दै उद्योगीले सहज आपूर्तिका लागि सिलिन्डर आयात गर्न सरकारलाई सुझाब दिएका हुन् । तरल अक्सिजन खाना पकाउने ग्यासजस्तै बुलेटमा ल्याउने हो, त्यो केमिकलबाट बन्ने हो । यस्तो अक्सिजन एकैपटक ल्याएर अस्पतालको प्लान्टमा खन्याएपछि दुई–तीन सातालाई पुग्छ । प्लान्टबाट बेडसम्म जोडिएको प्रणालीबाट बिरामीलाई अक्सिजन पुग्ने भएकाले यो सेवा विश्वसनीय हुन्छ । तर, देशका प्रमुख अस्पताल वीर, पाटन, पोखरा र धरानमा यस्ता प्लान्ट एक वर्षअघि नै बिग्रिएका हुन्, सरकारले बनाएको छैन । सिलिन्डर भने छिटो–छिटो फेर्नुपर्छ, अब धेरै अस्पतालमा त्यसैको भर गर्नुपर्ने अवस्था छ । हाल काठमाडौंमा आठ र काठमाडौंबाहिर १२ गरी २० उद्योग सञ्चालनमा रहेको संघले जनाएको छ । काठमाडौंका उद्योगमा प्रतिदिन आठ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ, देशभरमा भने २० हजार सिलिन्डर प्रतिदिनको क्षमता छ । यो उत्पादनले करिब सात हजार बिरामीलाई २४सै घन्टा अक्सिजन दिन सकिन्छ । ‘कोभिडले ग्रसित बिरामीलाई दिनमा तीन सिलिन्डरसम्म पनि अक्सिजन आवश्यक पर्न सक्छ, २० हजार सिलिन्डरले सात हजार बिरामीलाई सेवा दिन सकिन्छ,’ एक उद्योगी भन्छन्, ‘तर अक्सिजन सकिनासाथ जोडिहाल्न अर्को सिलिन्डर तयार नहुन सक्छ, बाटोमै हुन सक्छ । अर्को अस्पतालमा हुन सक्छ । त्यसमाथि नियमित अक्सिजन लिएका बिरामीलाई पनि अक्सिजन दिनुपर्ने हुन्छ । पर्याप्त सिलिन्डर भएमा मात्र हरेक अस्पतालमा स्टक राख्न सकिन्छ ।’ नयाँ पत्रिकामा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष