NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

काेराेना महामारीमा अक्सिजन कन्सन्ट्रेटरको माग ह्वात्तै बढ्यो

मुलुकमा कोभिड संक्रमणको बढ्दो त्राससँगै सर्जिकल पसलहरूमा ‘अक्सिजन कन्सन्ट्रेटर’ खरिद गर्ने ग्राहकको भिड बढ्न थालेको छ । दमका बिरामीका लागि उपयोग हुने अक्सिजन कन्सन्ट्रेटर पछिल्लो समय घरमा बिरामी नहुनेहरूले पनि लैजान थालेका छन् । कोभिड संक्रमित बढेर अस्पतालमा अक्सिजनको अभाव हुन सक्ने आशंका गर्दै सर्वसाधारणले घरमा अक्सिजन मेसिन जोहो गर्न थालेका हुन् । ‘अरूवेला दमका रोगीहरूले किनेर घरमा लैजाने गर्थे, अहिले अरूले पनि लैजान थालेका छन्,’ त्रिपुरेश्वस्थित जय साईबाबा सर्जिकलका म्यानेजर नवीन भण्डारीले भने, ‘बजारमा अक्सिजनको अभाव हुन सक्ने हल्ला फैलिएपछि अक्सिजन कन्सन्ट्रेटरको बिक्री बढेको हो ।’ सामान्य अवस्थामा महिनाको ५–६ थान बिक्री हुने पसलबाट अहिले दैनिक २–३ वटा अक्सिजन कन्सन्ट्रेटर बिक्री भएको व्यवसायीहरू बताउँछन् । त्रिपुरेश्वरकै साहिल सर्जिकल प्रालिले एक हप्तामा १२ थान अक्सिजन कन्सन्ट्रेटर बिक्री गरेको बताएको छ । ‘घरमा दमका रोगी हुनेहरूले फाट्टफुट्ट किनेर लैजान्थे, कोभिडको दोस्रो लहर सुरु भएपछि अक्सिजन कन्सन्ट्रेटरको माग बढ्न थालेको छ,’ साहिल सर्जिकलका सञ्चालक सञ्जय श्रीवास्तवले भने, ‘हामीसँग त्यति धेरै स्टक थिएन, भएका बिक्री गरेर सकिन थालिसकेका छन् ।’ कोभिड संक्रमित बढेर हस्पिटल भरिन थालेको र अक्सिजनको अभाव हुन सक्ने हल्ला फैलिन थालेपछि धेरैले घरमा अक्सिजनको जोहो गर्न थालेको उनको ठम्याइ छ । नयाँ पत्रिकामा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष