NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भेरी अस्पतालका ७० स्वास्थ्यकर्मी संक्रमित

बाँके। नेपालगन्जको भेरी अस्पतालमा कार्यरत ७० जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अस्पताल प्रशासनका अनुसार अस्पतालमा कार्यरत सात जना चिकित्सकसहित ७० स्वास्थ्यकर्मी कोरोना संक्रमित बनेका हुन् । संक्रमित हुनेहरुमा ओटी, इमरजेन्सी, पारामेडिक र आईसीयूमा कार्यरत स्वास्थयकर्मी छन् । सात जना चिकित्सक भने इमरजेन्सी वार्डमा कार्यरत हुन् । स्वास्थ्यकर्मीहरु संक्रमित भए पनि उनीहरुलाई अस्पतालमा नराखिएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए । उनका अनुसार बिरामीले समेत बेड नपाइरहेका बेला स्वास्थ्यकर्मीलाई अस्पतालमा राख्दा बेड अभाव हुने भएकाले उनीहरुलाई नराखिएको हो । हाल उक्त अस्पतालमा करिब चारसय स्वास्थ्यकर्मी कार्यरत छन् ।कोरोनाका बिरामीका लागि दुई सय बेड बनाइएको छ । यस्तै, उपचारमा थप समस्या नहोस् भनेर सामान्य बिरामीलाई भर्ना लिने गरिएको छैन । गत वर्ष कोरोना उपचारका लागि छुट्याइएका चिकित्सक तथा नर्सले निरन्तर काम गरिरहेका छन् । संक्रमित भएपछि आइसोलेसनमा बस्ने र निको भएपछि फेरि उनीहरू काममै फर्किने गरेका छन् । अस्पतालमा भर्ना भएका कोभिडका बिरामीमध्ये ६० जना आईसीयूमा छन् भने १० जना भेन्टिलेटरमा छन् । बाँकेमा मंगलबारमात्रै ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । अस्पताल थप भर्ना लिन सक्ने अवस्थामा छैन । त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका ३० जना स्वास्थ्यकर्मी संक्रमित छन् । बेड अभावका कारण सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा बसिरहेका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा हाल ५० जना संक्रमित उपचाररत छन् । जसमध्ये २८ जनाको स्थिति गम्भीर अवस्थामा छन् । उक्त अस्पतालमा चिकित्सकसहित ५ सय ५० जना स्वास्थ्यकर्मी कार्यरत छन् । कोहलपुरमा हाल १ सय ५० बेडको कोभिड वार्ड बनाइएको छ भने अक्सिजनसहित सय बेड छन् । दुई दिनभित्र अस्पतालमा २ सय ५० बेड पुर्‍याउने गरी काम भइरहेको अस्पतालले जानकारी दिएकाे छ ।

ताजा अपडेट

नेपालवाच विशेष