NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

संक्रमित अत्यधिक हुँदा पनि काभ्रे र मकवानपुरमा छैन निषेधाज्ञा

काठमाडौं । कोभिड संक्रमितको संख्यामा बृद्धि हुँदै जाँदा नियन्त्रणका लागि लकडाउन तथा निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई छ । महामारी नियन्त्रणका लागि जिल्ला आफैंले पनि निषेधाज्ञा लगायतका विधि अपनाउन सक्छन् । यसमाथि केही दिनअघि मन्त्रिपरिषद्ले पनि संख्या सीमा नै तोकेर त्यसभन्दा बढी संक्रमित देखिए निषेधाज्ञा लगाउने निर्णय गरेको छ । तर, केही जिल्लाले संक्रमितको संख्या बढ्दासमेत निषेधाज्ञा गरेका छैनन् । अहिले संक्रमितको संख्या अत्यधिक भएका तीनमा आंशिकसहित १८ जिल्लामा निषेधाज्ञा छ । सरकारले तोकेको संख्या सीमाभन्दा बढी संक्रमित देखिएका अधिकांश जिल्लाले निषेधाज्ञा घोषणा र लागू गरिरहेका छन् । तर, मकवानपुर र काभ्रेमा ताेकिएकाे भन्दा काेराेना संक्रमितकाे संख्या अधिक हुँदा पनि प्रशासनले अहिलेसम्म निषेधाज्ञा गरेका छैनन् । जसबाट झन् संक्रमणकाे अवस्था भयावह हुने त्रास फैलिएकाे छ । बर्दिया, कालिकोट र बागलुङमा आंशिक निषेधाज्ञा छ भने बाँके, सुर्खेत, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरीमा पूरा निषेधाज्ञा छ । १३ वैशाखमा मन्त्रिपरिषद्ले कोभिडको दोस्रो लहरको संक्रमणबाट अतिप्रभावित जिल्लाहरुमा संक्रमणको रोकथाम र नियन्त्रण तथा उपचारका लागि काठमाडौं उपत्यका र तराइका जिल्लामा पाँच सय र पहाडी तथा हिमाली जिल्लामा दुई सय भन्दा बढी सक्रिय संक्रमित पुगेका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले १६ गतेदेखि १५ दिनका लागि निषेधाज्ञा गर्नसक्ने निर्णय गरेको थियो । कतिपय जिल्लाले त्यसअघि नै निषेधाज्ञा घोषणा र कार्यान्वयन गरिसकेका थिए । अधिकांश जिल्लाले भने मन्त्रिपरिषद्को निर्णयपछि धमाधम निषेधाज्ञाको घोषणा गरिरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष