NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

अत्यावश्यकबाहेकका कार्यालय एक चौथाइ कर्मचारीले चलाउन निर्देशन, श्रमिकलाई उद्योगभित्रै खाना र बस्न मिलाउनुपर्ने

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्र (सीसीएमसी) को शनिबार सम्पन्न बैठकले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ । निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला सहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखी सञ्चालन गराउने निर्णय पनि बैठकले गरेको छ । उक्त कार्यका लागि नेपाल राष्ट्र बैंकले सहजीकरण गर्नेछ । काठमाडौं उपत्यकाका हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय पनि बैठकले गरेको छ । व्यवसाय र उद्योगमा कर्मचारी एवम् श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गराउने निर्णय बैठकले गरेको छ । यस्तै कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजनलगायत उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने, सार्वजनिक निर्माणमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी निर्माणकार्य जारी राख्ने निर्णय पनि बैठकले गरेको छ । आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीले जाने–आउने स्थान लेखिएको परिचयपत्र बोकेर सवारी साधन सञ्चालन गराउनुपर्ने उपप्रधानमन्त्री एवम् केन्द्रका संयोजक ईश्वर पोखरेलको सचिवालययले जनाएको छ । काठमाडौं उपत्यकाका होटेल क्वारेन्टिनमा बस्नेहरूलाई अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रुपमा नियमित अनुगमन गर्न/गराउन पनि बैठकले निर्णय गरेको छ । उपत्यकाबाहेक जिल्लामा प्रदेश र स्थानीय तह मिलेर संयन्त्र निर्माण गरी अनुगमन गर्ने, होम क्वारेन्टिनमा बसेकाहरूलाई स्थानीय तहले अनुगमन गर्ने, होटेल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल तिनका देश पठाइने प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएको छ । होटेल क्वारेन्टिनको नियम पालना नगर्ने नेपालीलाई कानूनबमोजिम जरिवाना गर्ने तथा होटेल क्वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने निर्णय भएको छ । यसैगरी सञ्चारमाध्यमलाई कोभिडविरुद्ध जनचेतनामूलक सन्देश प्रसारण/प्रकाशन गर्न अनुरोध गर्ने तथा सम्बन्धित स्थानीय तहले टोलटोलमा जनचेतनाका लागि नियमित माइकिङ गर्ने निर्णयमा उल्लेख छ ।फाइल तस्बिर