NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कोभिडबाट मृत्यु भएकालाई एक लाख राहत, सामग्री किन्न हरेक जिल्ला अस्पताललाई एक करोड

सुर्खेत । कर्णाली प्रदेश सरकालले कोरोना संक्रमणका कारण ज्यान गुमाउने नागरिकका परिवारलाई राहत दिने भएको छ । प्रदेश सरकारले कोरोना संक्रमणका कारण मृत्यु हुने नागरिकका परिवारलाई एक/एक लाख राहत स्वरुप दिने भएको हो । कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले कोरोनाका कारण ज्यान गुमाउनेहरुको परिवारलाई एक/एक लाख राहत स्वरुप दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीले जानकारी दिइन् । संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड तथा आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय भएको मन्त्री केसीले जनाइन् । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले आवश्यक सबै तयारी गर्नमा कुनै कसर बाँकी नराखेको भन्दै केसीले प्रयत्न गर्दागर्दै पनि प्रदेश भित्रका नागरिकहरुको कोरोना संक्रमणबाट मृत्यु भएमा परिवारलाई राहत स्वरुप एक लाख रकम प्रदान गर्ने निर्णय भएको बताइन् । कोभिड–१९ सँग सम्बन्धित समस्याहरु समाधानका लागि विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तरण गरिएको प्रवक्ता केसीले जानकारी दिइन् । यस्तै प्रदेशको मन्त्रीपरिषद्को बैठकले अक्सिजन सिलिण्डर र अक्सिजन आपूर्ति गर्न अस्पतालहरुलाई थप बजेट प्रदान गर्ने निर्णय गरेको छ ।प्रदेशका १० जिल्लामा रहेका जिल्ला अस्पतालहरुलाई एक÷एक करोड रकम दिने निर्णय गरेको छ । यसैगरी कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी अस्पताल रुकुमपश्चिमलाई एक/एक करोड तथा सुर्खेतको मेहलकुना अस्पताल र दैलेख अस्पताललाई ५०/५० लाख दिने निर्णय गरेको मन्त्री केसीले बताईन् । सो रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट खर्च गरिने छ ।