NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कोरोनाका कारण भारतमा एक सातामै २० नेपालीको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण गत साता मात्रै भारतमा २० जना नेपालीको मृत्यु भएको छ । त्यसबाहेक कुवेतमा २ र कतारमा १ नेपालीको कोरोनाकै कारण मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाले बताए । भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको महामारीका कारण नेपालीको पनि मृत्यु हुने क्रम बढेको एनआरएनएको भनाइ छ । भारतको नयाँदिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य तथा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार नयाँदिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका छन् । यससँगै हालसम्म विश्वका २१ मुलुकमा संक्रमणका कारण ३७२ नेपालीको मृत्यु भइसकेकाे ५ । जसमध्ये २४५ जनाको मध्यपूर्वका मुलुकमा मृत्यु भएको हो । अहिलेसम्म विश्वका ५४ मुलुकमा ६८ हजार ५०६ नेपाली संक्रमित हुन पुगेका छन् । कुल संक्रमितमध्ये ९४.६ प्रतिशत अर्थात् ६४ हजार ७४४ जना संक्रमणमुक्त भएका छन् । गत साता भारत, कुवेत, कतार, यूएई, रोमानिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक र पोल्यान्डमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको संघको कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । पछिल्लो एक वर्षमा सबैभन्दा बढी मेमा ६८, सेप्टेम्बरमा ६५ र अगस्टमा ३६ नेपालीको मृत्यु भएको थियो । गत वर्ष जुन, जुलाई, डिसेम्बर र यस वर्ष जनवरीमा सबैभन्दा धेरै नेपाली संक्रमणबाट मुक्त भएका थिए । यसैबीच, गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले महामारीका दौरान २५० चिकित्सक र नर्स परिचालन गरिएको जानकारी दिए । उनका अनुसार नेपालबाहिर करिब ५ हजार चिकित्सक र १५ हजार नर्स नेपाली छन् । ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनएमा जोड्ने प्रयास भइरहेको उनले बताए । टेलिहेल्थ सेवा प्रयोगका लागि आग्रहएनआरएनएले सुरु गरेको टेलिहेल्थ सेवाले स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या भए फोनबाट परामर्श लिन सकिने जनाएको छ । समितिले दुई विश्व स्वास्थ्य सम्मेलन आयोजना गरिसकेको र तेस्रो विश्व स्वास्थ्य सम्मेलन आगामी सेप्टेम्बर १७ देखि १९ मा लन्डनमा आयोजना गरिने जनाइएको छ । डा. सापकोटाले संघले ‘कम्प्रिहेन्सिभ ग्लोबल टेलिहेल्थ प्रोग्राम’ सुरु गरेर कोभिड-१९ बाट जोगिन र संक्रमित भए कसरी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्नेबारे नेपाली भाषामा नै निर्देशिका प्रकाशन गरेको बताए । पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले महामारीकै बीच पनि ५० देशका ३ सय शहरमा २५ सय स्वयंसेवक परिचालन गरी सेवा प्रदान गरिएको बताए । उनका अनुसार एनआरएनएमार्फत एक लाख ७० हजारलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरिएको थियो । त्यस्तै संघका संरक्षक एवं पूर्वाध्यक्ष जीवा लामिछानेले विगतका अन्य विपद्‌मा जस्तै कोभिड महामारीका बेला पनि एनआरएनएले नेपालीलाई सघाएको बताए । मानसिक स्वास्थ्य समस्यामा वृद्धिकोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको चिकित्सकले बताएका छन् । डा. सापकोटासहित पत्रकार सम्मेलनमा विभिन्न देशबाट भर्चुअल माध्यमबाट सहभागी चिकित्सकले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताए । महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्नेलगायत समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताए । मानसिक समस्या समाधानका लागि स्वास्थ्य समितिले तालीम सञ्चालन गरेको डा. सापकोटाले जानकारी दिए । त्यस्तै, आत्महत्या रोकथामका लागि पनि कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । स्वास्थ्य समितिमा नेपाल तथा विश्वका विभिन्न मुलुकमा कार्यरत नेपाली चिकित्सक सहभागी छन् । विदेशमा रहेका नेपालीको अवस्थाको तथ्यांक संकलनमा युरोपबाट डा. बोधराज सुवेदी, बेलायतबाट डा. दिलीप यादव, कतारबाट डा. नितेश अर्याल, दक्षिण अफ्रिकाबाट डा. सरिता भट्टराई र स्पेनबाट नर्स सांग्रिला लामालगायतको टोलीले सहयोग गरिरहेको छ । (रासस)