NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भारतबाट ढिलाइ भएपछि चीन, रुस र अमेरिकाबाट खोप खरिदको प्रयास

अग्रिम भुक्तानी गरिसकेको कोभिड– १९ विरुद्धको खोप भारतबाट आउन ढिलाइ भएपछि सरकारले चीन, रुस र अमेरिकाबाट खोप खरिदका लागि कूटनीतिक प्रयास तीव्र पारेको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार देशवासीका नाममा गरेको सम्बोधनमा सरकारले आफैँ आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिसकेको बताएका छन् । चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न सरकार प्रयत्नशील रहेको प्रधानमान्त्री ओलीको भनाइ थियो । खोप खरिदका लागि बेइजिङ र वासिङ्टनडिसीस्थित नेपाली राजदूतलाई सरकारले सक्रिय हुन निर्देशन दिएको छ । तीनै देशका काठमाडौंस्थित राजदूतसँग पनि सरकारले खोपका लागि सहजीकरण गरिदिन अनुरोध गरेको छ । यीमध्ये सबैभन्दा पहिले चीनबाट खोप आउने सरकारको विश्वास छ । ‘भारतबाट खरिद भएको खोप आउन विभिन्न कारणले समय लाग्ने भएको छ । भारत आफैँ पनि अप्ठ्यारोमा परेको स्थितिमा हामीले चीन, रुस र अमेरिकासँग खोपका लागि कुराकानी गरिरहेका छौँ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले भने, ‘कूटनीतिक च्यानलमार्फत र प्रत्यक्ष संवादबाट कुराकानी अघि बढाएका छौँ, चाँडै नै नतिजाको पर्खाइमा छौँ ।’ सल्लाहकार भट्टराईका अनुसार तीन मुलुकबाट अनुदान तथा खरिद दुवै मोडालिटीमा खोप ल्याउनेबारे छलफल भएको छ । विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त कम्पनीबाट खोप खरिदका लागि प्रयास भएको उनको भनाइ छ । नयाँ पत्रिकामा खबर छ। नेपाल सरकारले दिल्लीस्थित सेरम इन्स्टिच्युट इन्डियालाई २० लाख डोज खोपका लागि सुरुमै ८० प्रतिशत रकम अग्रिम भुक्तानी दिएकोमा अहिलेसम्म नेपालले १० लाख डोज खोप ल्याइसकेको छ । सेरमबाट १० लाख डोज सरकारले प्राप्त गर्न बाँकी छ । सरकारले सेरमलाई झन्डै एक अर्ब भुक्तानी गरिसकेको छ । तर, अमेरिकाबाट कच्चा पदार्थ नआएका कारण खोप उत्पादन बन्द भएको भन्दै सेरमले नेपाल, बंगलादेशलगायतका देशलाई खोप दिन सकेको छैन । खोप नआएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २७ चैतमा भारतीय विदेशमन्त्री डा। एस जयशंकरसँग टेलिफोन संवाद गरेर दोस्रो चरणको खोपका लागि सहजीकरण र सहयोग गरिदिन आग्रह गरेका थिए । भारतबाट खरिद भएको खोप नआए दोस्रो चरणको खोप कार्यक्रम नै प्रभावित हुने र नेपाललाई अत्यन्त अप्ठ्यारो पर्ने भन्दै सहजीकरणका लागि आग्रह गरेका थिए । भारतीय विदेशमन्त्री जयशंकरले नेपाललाई खोप उपलब्ध गराइदिने आश्वासन दिएका थिए । त्यसपछि वैशाख १५ सम्म खोप आउने अपेक्षा नेपालको थियो । तर, सेरमबाट खोप आउने अझै निश्चित नभएको सरकारी अधिकारीहरू बताउछँन् । भारतले नेपाललाई ८ माघमा अनुदानका रूपमा दिएको १० लाख डोज कोभिसिल्ड खोप अग्रमोर्चामा खटिएकाहरूलाई लगाएको थियो । त्यसपछि सरकारले खरिद गरेर १० लाख डोज खोप ल्याएको थियो । भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई एक लाख डोज खोप पनि हस्तान्तरण भइसकेको छ । भारतबाट नेपालले अहिलेसम्म जम्मा ११ लाख डोज खोप अनुदानमा पाएको छ । चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आइसकेको छ । खोपको अभावमा खोप अभियान नै प्रभावित भएको छ ।