NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मर्जर प्रक्रियाबाट तोडिन खोज्दै आँधिखोला र धौलागिरी लघुवित्त, राष्ट्र बैंकले देला त अनुमति ?

काठमाडौं । आँधिखोला र धौलागिरि लघुवित्तले मर्जर सम्झौता गरेको १६ महिनापछि मर्जर सम्झौता तोड्ने निर्णयमा पुगेका छन् । आँधिखोला लघुवित्तका सिइओ डोल राज केसीका अनुसार दुवै कम्पनीभित्र आन्तरिक कुरामा दन्द भएकाले मर्जरलाई अगाडि बढाउन नचाहेका कारण डि–मर्ज गराउन लागिएको हो । उनले भने, ‘दुवै लघुवित्तले डि–मर्ज गराउन राष्ट्र बैंकसँग अनुमति माग गरेका छौं ।’ राष्ट्र बैैंकले डि–मर्ज गर्न अनुमति दिएमा मर्जर तोड्ने पक्षमा आँधिखोला र धौलागिरीका सञ्चालक रहेकोसमेत उनले बताए । उनले मर्ज तोड्न पर्ने भित्रि द्वन्द्वको कारण भने बताउन चाहेनन् । सर्वसाधारणहरुलाई सेयर जारी गरिसकेको आधिँखोला लघुवित्तले आइपिओ जारी नगरेको धौलागिरी लघुवित्तसँग एक आपसमा मर्ज हुने सम्झौता आव २०७६ पुस २ गते गरेको थियो । मर्जर प्रक्रियाको लागि आँधिखोला लघुवित्तको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जमा आव २०७६ पुस ३ गतेदेखि रोक्का रहेको छ । सो अवधीदेखि कम्पनीका सेयरधनीहरुको सम्पती बन्धक भएर बसेको छ । कम्पनी मर्ज भएर सेयर कारोबार गरौंला भनेर बसेका लगानीकर्ताहरुको पखाई अझै कहिलेसम्म हो कुनै टुङ्गो छैन । मर्जरपश्चात मात्रै संयुक्त रुपमा एफपीओ जारी गर्ने सम्झौता पत्रमा भए पनि धौलागिरी लघुवित्तले एकल रुपमा साधारणसभा बोलाएर आइपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । धौलागिरीले गत वर्षको फागुन २२ गते दोस्रो साधारणसभाद्धारा आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । मर्जर सम्झौता भएपछि विगत डेढ वर्षदेखि नै आँधिखोला लघुवित्तको शेयर कारोबार रोक्का छ । यसरी मर्जर सम्झौता गरेको लामो समयसम्म पनि मर्जर प्रक्रिया नसक्दा लगानीकर्ताको सम्पति भने बन्धक बनेको छ । कम्पनीको शेयर कारोबार रोक्का भएका कारण लगानीकर्ताले गत १६ महिनादेखि आँधिखोला लघुवित्तको शेयर कारोबार गर्न पाएका छैनन् । डि–मर्जर बारे के भन्छ राष्ट बैंक ? नेपाल राष्ट बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार राष्ट्र बैंककबाट मर्जर गर्नको लागि एलोआई पाइसकेको कम्पनीले डि–मर्ज गराउन दुबै कम्पनीको संयुक्त मर्जर समितिले डि–मर्ज गर्ने निर्णय गनुपर्छ । त्यसपछि कम्पनीका संचालक समितिले डि–मर्ज पास गरेर ‘हामी डि–मर्ज गर्ने भयौं’ भनेर राष्ट्र बैंकमा लिखित पत्र पठाउनुपर्छ । तर, कम्पनीले मौखिक रुपमा मात्रै डि–मर्ज गराउने बताएको उनले जानकारी दिए । ‘यदि साँच्चीकै डि–मर्ज गर्न लागेको हो भने, हालसम्म संयुक्त मर्जर समितिको निर्णयबाट डि–मर्ज गराउन लागेको भन्ने पत्र आउनुपथ्र्यो । त्यो अहिलेसम्म आएको छैन’, उनले भने । मर्जर प्रक्रियामा रहेका बेलामा बीचमा केही कुरामा विवाद आएर डि–मर्ज भएमा त्यो कम्पनी राष्ट्र बैंकको कारवाहीमा पर्छ । कम्पनी डि–मर्ज भएको तीन वर्षभित्र अर्को कुनै पनि कम्पनीसँग मर्ज नभएमा राष्ट्र बैकले दिने सुविधाबाट बञ्चित रहनेछ । डि–मर्ज भएर कारबाहीमा परेको कम्पनीले तीन वर्षसम्म शाखा खोल्न नपाउने, मेजर संस्थापक सञ्चालक हुनबाट रोकिने लगायत राष्ट्र बैंकले दिने सुविधाबाट वञ्चित रहनेछ । अब आधिँखोला र धौलागिरी लघुवित्तलाई राष्ट्र बैंकले डि–मर्ज गर्न अनुमति दिएमा यी दुई लघुवित्तले तीन वर्षभित्र अरु कुर्न लघुवित्तसँग मर्जरमा जानुपर्ने हुन्छ । धौलागिरी लघुवित्तको केन्द्रीय कार्यालय बाग्लुङ्गमा रहेको भने आँंधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्याङजामा रहेको छ । धौलागिरी राष्ट्रिय स्तरको लघुवित्त होभने आँधिखोला १० जिल्लामा कार्य क्षेत्र भएको लघुवित्त हो । चैत मसान्तसम्म धौलागिरीको चुक्ता पूँजी ७ करोड रहेको छ भने, जगेडा कोषमा ५ करोड १३ लाख रहेको छ । सो अवधिमा कम्पनीले १ करोड ६४ लाख ६५ हजार नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८२ लाख ६४ हजार मात्र नाफा गरेको थियो । त्यस्तै सर्वसाधारणलाई सेयर जारी गरेको आँधिखोला लघुवित्तको चुक्ता पँुँजी १० करोड रहेको छ । जगेडा कोषमा ६ करोड ९७ लाख छ । गत आवको चैत मसान्तसम्म यस लघुवित्तले २ करोड ९० लाख नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा १ करोड १७ लाख ८० हजार मात्र नाफा गरेको थियो ।