NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

विद्युत आपूर्ति नियमित नहुँदा बन्द दाङको अक्सिजन उद्योग पुनः सञ्चालन गरिने

देउखुरी । विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग पुनः सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका-३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै विद्युतीय लाइन जोडिने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजनको माग बढेपछि उद्योगमा विद्युत् आपूर्ति गरिने भएको हो । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको समन्वयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, प्रहरी प्रमुख गणेश चन्द, राष्ट्रिय अनुसन्धानका निर्देशक अर्जुन भण्डारी, नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख अमितकुमार कर्ण र अक्सिजन उद्योगका सञ्चालक टोपाराम पौडेलसहितको मंगलबार बसेको बैठकले दाङ अक्सिजन प्रालिमा तत्काल विद्युत् जोड्ने निर्णय गरेको छ । ५ वर्ष पहिले अक्सिजन उद्योग स्थापना भए पनि विद्युत् आपूर्ति भरपर्दो नहुँदा उत्पादन बन्द भएको थियो । जटिल अवस्थाका संङ्क्रमितलाई अक्सिजनको अत्यधिक माग रहेका समयमा यस्तो निर्णय गरिएको हो । २०७३ मा खुलेको दाङ अक्सिजन उद्योग प्रालिसँग दैनिक दुई सय सिलिण्डर अक्सिजन भर्न सक्ने क्षमता रहेको उद्योगका व्यवस्थापक भरत पौडेलले बताए । विद्युत् नियमित भए अहिले पनि दैनिक १५० सिलिण्डर भर्न सकिने उनको भनाइ छ । विद्युत् नियमित र भरपर्दो बनाउन सके यो संकटको सामना सहजै गर्न र बिरामीको ज्यान बचाउन सकिने पौडेलले बताए । उद्योगका लागि छुट्टै फिडरको व्यवस्था भए २४ सै घण्टा अक्सिजन उत्पादन गर्न सकिने उनले दाबी गरे । कोरोना संक्रमितका लागि जिल्लामा दैनिक एक हजार सिलिण्डर अक्सिजन आवश्यक पर्ने भए पनि अहिले दैनिक चार सय अक्सिजन सिलिण्डर अपुग हुने गरेको छ । पालिकाले बनाएका आइसोलेसन सेन्टर र अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो चार दिनदेखि अक्सिजनको अभाव छ । त्यहाँ नेपालगञ्जबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता छ । (रासस)