NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

राष्ट्रिय सभा उपनिर्वाचन : थापा र देवकोटाद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । वाग्मती प्रदेशबाट राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा नेकपा (एमाले) को तर्फबाट रामबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । आजै बिहान हेलिकप्टरमा हेटौंडा पुगेका उनले प्रदेश राजधानी हेटौंडामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गई मध्यान्हमा उम्मेदवारी दर्ता गराएका हुन् । थापाको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन् । आजै एमालेको शीर्ष नेताहरुको बालुवाटारमा बसेको बैठकले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । थापाअघि नै डा. खिमलाल देवकोटाले पनि उम्मेदवारी दिएका छन् । बिहान ११ः१५ बजे वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनले आफ्नो मनोनयन दर्ता गराएका हुन् । उनलाई विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र एमालेमा असन्तुष्ट खनाल-नेपाल पक्षको पनि समर्थन छ । स्वतन्त्र उम्मेदवारी दिएका उनले कलम चुनाव चिह्न मागेका छन् । उनी एमालेको खनाल-नेपाल पक्षका हुन् । एउटै पार्टीका २ जना उम्मेदवार बन्न नसक्ने हुँदा उनको स्वतन्त्र उम्मेवदारी परेको हो । राष्ट्रियसभा उपनिर्वाचनका लागि वाग्मती प्रदेशसभाका ११० सदस्य, नगर प्रमुख-उपप्रमुख र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष गरेर २३८ सहित कुल ३३८ जना मतदाता छन् । उपनिर्वाचन आगामी जेठ ६ गतेका लागि तोकिएको छ ।