NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कर्णाली सरकारको निर्णय : कोरोना नियन्त्रण निर्देशक समिति गठनदेखि जनशक्ति करारमा लिनेसम्म

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रण तथा व्यवस्थापन कार्यलाई कर्णाली प्रदेशभर प्रभावकारी बनाउन प्रदेश कोभिड-१९ रोग नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ । कोरोना रोग नियन्त्रण तथा व्यवस्थापनको कार्यलाई कर्णाली प्रदेशभर प्रभावकारी बनाउन निर्देशन समन्वय तथा एकीकृत व्यवस्थापन गर्ने उद्देश्यले सो समिति गठन गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले जानकारी दिइन् । सो निर्देशक समितिको संयोजकमा मुख्यमन्त्री रहनेछन् । यस्तै सदस्यमा आन्तरिक मामिला तथा कानुनमन्त्री, सामाजिक विकासमन्त्री, वीरेन्द्रनगर नगरपालिका प्रमुख, मुख्यमन्त्री कार्यालयका सचिव, प्रदेश प्रहरी कार्यालय प्रमुख, सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सामाजिक विकास मन्त्रालयका सचिव रहनेछन् । यसैगरी सामाजिक विकास मन्त्रालयको सचिवको संयोजकत्वमा प्रदेश अस्पताल सुर्खेत कोभिड–१९ रोग नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति गठन गरी सञ्चालन, परिचालन गर्ने निर्णय पनि गरेको छ । जसको सदस्यहरुमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, वीरेन्द्रनगर नगरपालिका प्रमुख र सदस्यसचिव प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रहने जनाइएको छ । सामाजिक विकास मन्त्रालयलाई कोभिड–१९ रोग नियन्त्रण तथा व्यवस्थापन कार्यक्रमका लागि कर्णाली प्रदेश मन्त्रिपरिषद्को पूर्ववत् निर्णयअनुसार थप बजेट उपलब्ध गराउँदा १० करोडका दरले थप गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराउने निर्णय भएको मन्त्री केसीले जानकारी दिइन् । यसैगरी, प्राविधिक जनशक्ति सेवा करारमा छनोट गर्ने कार्यविधि २०७६ (संशोधन) को दफा २१ को उपदफा (१) मा व्यवस्था भए अनुसार करारमा कर्मचारी नियुक्ति गर्न सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई स्वीकृति प्रदान गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।