NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

माधव नेपाल पक्षमाथिको कारबाही टर्यो, पार्टी एकताको पक्षमा पहल शुरु

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट बनेको माधवकुमार नेपाल पक्षसँग विस्वासको वातावरण बनाउन पहल थालेका छन् । संसदमा ह्वीप उल्लंघन गरेर पार्टीको सरकार ढाल्न भूमिका खेलेको भन्दै नेपाल पक्षका सांसदहरुलाई कारबाही गर्ने चेतावनी दिदै आएको थियो । एमाले बाहेकका दलहरुले बहुमतको नयाँ सरकार गठनको प्रयास गरिरहेका बेला प्रधानमन्त्री ओलीले असन्तुष्ट समूहसँगको छलफललाई तिब्र पारेका हुन् । बालुवाटार स्रोतका अनुसार माधव नेपाल समूहसँग छलफल गर्न ओलीले सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेललाई जिम्मेवारी दिएका छन् । उनीहरुले नेपाल समूहका घनश्याम भुषाल, योगेश भट्टराई लगायत नेताहरुसँग निरन्तर संवाद गरिरहेका छन् । नेता घनश्याम भुषालले आन्तरिक असमझदारी हल गर्न प्रयास भइरहेको बताए । ‘स्वभाविक रुपमा पार्टी एकता बचाउनु पर्छ भन्ने सोँचबाट छलफल भइरहेको छ । एक अर्कामा विस्वासको वातावरण बनाउने प्रयास गरिरहेका छौँ ।’ भुषालले भने । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नेपाल समूहबाट ह्वीप उल्लंघन गरेको भएपनि तत्काल कारबाही गर्ने पक्षमा नभएको बताए । यसअघि उनले ह्वीप उल्लंघन गर्ने जो कोहीलाई कारबाही गर्ने चेतावनी दिएको थियो । उनले पार्टी एकता जोगाउनका लागि पनि कारबाहीमा हतार नगर्ने बताए । ‘हामी अझै पनि पार्टी एकताको पक्षमा छौँ । पार्टी एकता जोगाउने पक्षमा रहेकाले कारबाही गरेर पार्टी एकता जोगाउन सकिदैन ।’ प्रमुख सचेतक भट्टराईको भनाई छ । एमालेको नेपाल पक्ष सांसदले सामूहिक राजीनामा दिएर शेरबहादुर देउवाको नेतृत्वमा बहुमतको सरकार बनाउने प्रयास भइरहेका बेला एमालेभित्रको समिकरण बदलिन लागेको हो ।