NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालबाट डिस्चार्ज, पूर्वमहारानीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भई बुधबार राति डिस्चार्ज भएका छन् । पूर्ण स्वास्थ्यलाभ गरी अस्पतालबाट पूर्वराजा डिस्चार्ज भएको नर्भिक इन्टरनेशनल अस्पतालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । पूर्वराजा ज्ञानेन्द्र कोरोना संक्रमण भई १९ दिनअघि पूर्वमहारानी कोमल शाह र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए । निरन्तरको उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको अस्पतालले जनाएको छ । कोरोनाका लक्षण हराएपछि उनको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको हो । अस्पतालमा उपचाररत पूर्वमहारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख रहेको अस्तालले जनाएको छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ । उनलाई केही दिनअघि स्वास्थ्य अवस्थामा सुधार भएपछि आइसियूबाट वार्डमा सारिएको थियो । उनको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको नर्भिकले जनाएको छ । पूर्वअधिराजकुमारी प्रेरणा शाहको स्वाव रिपोर्ट नेगेटिभ आए पनि उनी आमासँगै अस्पतालमा रहेकी छन् । पूर्वराजा, पूर्वरानी र अधिराजकुमारीको उपचारमा पूर्वराजपरिवारका निजी चिकित्सकसहित नर्भिकका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न रहेको जनाइएको छ ।