NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

प्रधानमन्त्रीको विरोधाभास- सरकार चलाउन दिक्क लाग्यो, लगत्तै भन्छन्- फेरि मै बनाउँछु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन आफूलाई दिक्क लागेको बताएका छन् । चौतर्फी असहयोग, आलोचना र विरोधले आफू यस्तो मनस्थितिमा पुगेको उनको भनाइ छ । ‘न कसैले समर्थन गर्छ, न साथ दिन्छ । दिनैपिच्छे असहयोग, चरित्र हत्या र बदनाम गरेको छ । विरोधका लागि विरोध गरेको छ,’ बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘अब सरकार चलाउन मन छैन । दिक्क लागेको छ ।’ तर उनले आफ्नो भित्री चाहना धेरैबेर लुकाउन भने सकेनन् । लगत्तै १८० डिग्रीमा फनक्क घुमेर ७६(५) अनुसार सरकार गठनका लागि दाबी गर्ने निसंकोच बताउन भ्याए । उनले भने, ‘म दाबी गर्ने गर्ने प्रयासमा छु । मलाई अरूले समर्थन गरून् । मेरो १२१ ले त बहुमत पुग्दैन । बहुमत नपुगी त दाबी हुँदैन । अहिलेसम्म चाहेर नचाहेर अनुस्पित भएर बाहिर जे भए पनि मसँग १२१ को मत सांसद छन् ।’ सम्बोधनका क्रममा उनले एकपटक होइन, पटक पटक आफैंले गरेका कुरा काटेका थिए । सम्बोधन सकिएपछिको प्रश्नोत्तरको समयमा पत्रकारले राखेका कतिपय जिज्ञासाको जवाफ पनि उनले प्रष्ट रूपमा दिएनन् । प्रष्ट जवाफ नआएपछि पत्रकारले पटक पटक उही प्रश्न राख्नु परेको थियो । विपक्षीको पल्लाभारी नहुनेमा ढुक्क राष्ट्रपतिको आह्वानपछि कांग्रेस, माओवादी केन्द्र र जसपाका उपेन्द्र बाबुराम नयाँ सरकार निर्माण गर्न जुटेका छन् । तर यो प्रयासले आकार नलिनेमा प्रधानमन्त्री ढुक्क देखिए । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम–उपेन्द्र यादव पक्ष सरकार निर्माण गर्नसक्ने अवस्थामा नरहेको उनले प्रष्ट संकेत गरे । ‘माओवादी केन्द्र र कांग्रेससँग जम्मा ११० सांसद छन् । ११० ले सरकार बन्छ र ?’ विपक्षीले सरकार गठन गर्ने सम्भावनाबारे राखिएको जिज्ञासामा प्रतिप्रश्न गरे । प्रधानमन्त्रीको सम्बोधनपछि प्रश्नोत्तरको समय दिइएको थियो । जसमा पदबाट राजीनामा किन नदिएको भन्ने प्रश्न प्रधानमन्त्रीलाई राखिएको थियो । जवाफमा प्रधानमन्त्रीले राजीनामाको प्रबन्ध कहाँ छ भनेर उल्टै प्रतिप्रश्न गरे । ‘विश्वासको मत नलिने भनेर प्रधानमन्त्रीले मार्गप्रशस्त गरेको अवस्थामा राजीनामा दिनुपर्छ भनेर कहाँ लेख्या छ ?’, उनले भने । आफूले राजीनामा दिए पनि धारा ७६ (५) कै प्रक्रिया सुरु गर्नुपर्ने भएकाले यसलाई विवादको विषय बनाउनु उपयुक्त नहुने तर्क प्रधानमन्त्रीको छ ।

ताजा अपडेट

नेपालवाच विशेष