NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

एमाले फुट्न नदिन दोस्रो तहका नेता सक्रिय

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० विवाद चर्किंदै गएर फुटनजिक पुगेपछि एकता जोगाउन दोस्रो तहका नेताले सक्रियता बढाएका छन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद चर्किंदै गएको छ । ओली र नेपाल समूह पार्टी सञ्चालन, विधान, विधि, प्रक्रिया विषयमा अडान लिँदै आआफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विभाजननजिक पुगेको छ । एकता जोगाउने विषयमा दोस्रो तहका नेताबीच गम्भीर छलफल सुरु भएको छ । शीर्षनेतालाई दबाब दिँदै उनीहरू पार्टी एकता जोगाउन अघि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन् । स्रोतका अनुसार सर्वोच्च अदालतको फैसलापश्चात् ब्युँतिएको एमाले २ जेठ २०७५ कै बिन्दुबाट सहमतिसाथ अगाडि बढ्ने निष्कर्षमा उनीहरू पुगेका छन् । ओली समूहबाट नेता सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल समूहबाट घनश्याम भुषाल, सरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईसहितका नेताले एकता जोगाउने विषयमा छलफल गरेका छन् । सहभागी एक नेताका अनुसार सोमबार रातिसम्म पार्टी विवाद समाधान र एकता विषयमा छलफल भएको छ । ओली र नेपालको अडानबीच पार्टी विवाद बढ्दै गएपछि एकले अर्कोको निर्णय अस्वीकार गर्दै अगाडि बढिरहेका छन् । विवाद समाधानका लागि यसअघि ओली र नेपालले १० सदस्यीय कार्यदल गठन गरेको थियो । तर, सो कार्यदल निष्क्रिय अवस्थामा छ । नेताहरू कार्यदलमार्फत पार्टी एकता विषयमा छलफल अघि बढाउनुपर्ने निष्कर्षमा पुगेका छन् । साथै ओली र नेपालबीच छलफल गराउने प्रयास उनीहरूले गरिरहेका छन् । नेपाल समूहले सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को पार्टी नेतृत्व, विधान, कमिटीअनुसार अगाडि बढ्नुपर्ने अडानमा छ । तर, ओली समूह यसबीच माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका नेता व्यवस्थापन गर्दै अघि बढनुपर्ने अडानमा छ । राजधानी दैनिकमा खबर छ।