NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

भारतले खोप निर्यातमा प्रतिबन्ध लगाउँदा नयाँ भेरियन्टको जोखिममा ९१ मुलुक

काठमाडौं । भारतले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाउँदा नयाँ भेरियन्ट देखिएका ९१ मुलुक जोखिममा परेका छन् । बी.१.६१७ भेरियन्ट मात्रै होइन, खोप नपाउँदा अन्य भेरियन्ट पनि देखिन सक्ने र विश्वभर फैलिन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।खोप निर्यातमा भारतले प्रतिबन्ध लगाएपछि यसको मारमा ९१ मुलुक परेको संगठनले बताएको छ । भारतले खोप निर्यातमा लगाएको प्रतिबन्धको कारण नै यी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट फैलिने जोखिम पनि अत्यधिक देखिएको डब्ल्यूएचओको उल्लेख गरेको छ । ‘विशेषगरी सेरम इन्स्टिच्युट अफ इन्डियाबाट नआएको खोपको भरपाई एस्ट्राजेनेका कम्पनीले गर्न सकेको छैन, जसको कारण ९१ मुलुकले खोप आपूर्तिको कमीबाट प्रभावित भएका छन्’, डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले बताइन् । उनका अनुसार खोप अभावको सामना गर्ने मुलुक कोरोनाको नयाँ भेरियन्टको जोखिममा रहेका छन् । उनले बी.ज्ञ.६१७ मात्रै नभएर अनय भेरियन्टको संक्रमण भएका मुलुकमा पनि खोप अभावले जोखिम निम्तिएको बताएकी छन् । ‘यी भेरियन्ट निकै तीव्र गतिमा फैलिन सक्छ भन्ने हामीलाई थाहा छ । ती भेरियन्टहरुलाई पहिचान गर्नुभन्दा पहिला नै यो विश्वभर फैलिसकेको हुन्छ । त्यही कुरा ११७ भेरियन्टमा पनि लागू भएको छ र अहिले सबैभन्दा फैलिरहेको छ’, उनले भनिन् । गत वर्ष सेरम इन्स्टिच्युटले एस्ट्राजेनेकासँग सम्झौता गर्दा कम तथा मध्यम आय भएका मुलुकमा एक अर्ब डोज खोप आपूर्ति गर्ने बताएको थियो । सन् २०२० भित्रै ४० करोड डोज खोप आपूर्ति गर्ने कम्पनीले बताएको थियो । यो खोप कोभ्याक्स कार्यक्रमको लागि सम्झौता गरिएको थियो। भारतले मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएसँगै कोरोना खोपको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । डब्ल्यूएचओले यस वर्षको अन्तिमतिर मात्र भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाउने अपेक्षा गरेको छ । भारतले लगाएको प्रतिबन्धको कारण धेरै मुलुकमा खोपको अभाव देखिएको भन्दै डब्ल्यूएचओले विश्वका अन्य मुलुकसँग आफूलाई बढी भएको खोप अन्य मुलुकलाई दिन आग्रह गरेको छ । एजेन्सी