NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कर्णाली प्रदेशमा मन्त्रिमण्डल बिस्तारको तयारी, कांग्रेसका दुई मन्त्री थपिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कर्णाली प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा जेटेका छन् । कर्णालीमा नेपाली काँग्रेस प्रदेश सरकारमा सहभागी हुने भएपछि मन्त्रीमण्डल बिस्तार हुने भएको हो । पूर्ववत पार्टी बिउतिए संगै माओवादी नेतृत्वको सरकारलाई एमालले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कर्णाली प्रदेशको सरकारलाई विश्वासको मत दिएर सत्ता समिकरण गर्न पुगेको नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारका सहभागी हुने तयारीमा जुटेको हो । सत्ता समीकरण अनुसार माओवादी नेतृत्वको सरकारमा कांग्रेस दुई मन्त्रालय सहित सरकारमा सहभागी हुनेछ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले छिट्टै कांग्रेसका मन्त्री नियुक्ति गर्ने तयारी थालेका छन् । सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय लिएर कांग्रेस सरकारमा जान लागेको हो । कांग्रेस निकट स्रोतका अनुसार भने गुटगत सन्तुलन मिलाएर सरकारमा जाने तयारी गरिएको छ । देउवा र पौडेल समूहका एक÷एक जना सांसद्लाई मन्त्री बनाउने तयारी भएको कांग्रेस स्रोतले बतायो । एमालेका मन्त्रीले चैत २४ गते मन्त्रीबाट राजीनामा दिएपछि अहिलेसम्म सामाजिक विकास मन्त्रालय खाली छ । यसअघि माओवादी सांसद्लाई मन्त्री बनाउन भौतिक पूर्वाधार मन्त्रालय फुटाएर बनाइएको जलस्रोत मन्त्रालय पनि खाली नै छ । यसअघि सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलुकुदलाई आन्तरिक मामिला मन्त्रालयमा लिइएको थियो । कांग्रेसको अडानका कारण अहिले उक्त विषयलाई सामाजिक विकास मन्त्रालयमै ल्याउने तयारी भईरहेको जनाईएको छ । विहिबार बस्ने मन्त्रिपरिषद वैठकले यो निर्णय गर्ने जनाईएको छ । प्रदेश सरकारमा अहिले मुख्यमन्त्री सहित ३ जना, एमालेका फ्लोरक्रस गर्ने नेपाल समुहका ३ जना मन्त्री रहेका छन् । नेपाली काँग्रेसका दुई मन्त्री थपिए कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री सहित ८ जनाको मन्त्रीमण्डल हुनेछ । नेपाली कांग्रेसले पनि विश्वासको मत लिने क्रममा माओवादीलाई मत दिएको थियो । नेकपा विभाजनअघि प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको कांग्रेस विभाजनपछि सत्तारुढ बनेको हो । यस अघि फ्लोर क्रस गरेपछि एमालेका ४ जना र एमाले प्रवेश गरेपछि माओवादीका एक जना सांसदको पद गएको छ । अब कर्णालीमा यही अवस्थामा माओवादी केन्द्र र नेपाली काँगे्रस मिले प्रदेश सभामा बहुमत पुग्ने अवस्था छ । यतिबेला नेपाली काँग्रेस सरकारमा सहभागी भएमा आगामी निति तथा कार्यक्रम र बजेट सहजै ढुक्कका साथ पारित हुने अवस्था रहनेछ । बिहीबार सम्म काँग्रेसले सरकारमा जाने मन्त्रीहरू टुङ्गाउने र शुक्रबार सपथ लिने गरी तयारी भइरहेको कांग्रेसले जनाएको छ । ‘कांग्रेस सरकारमा जाने कुरा पक्का हो,’ कांग्रेस सांसद दिनबन्दु श्रेष्ठले भने, ‘सरकारमा क–कसलाई पठाउने भनेर छलफल भइरहेको छ ।’ बिहिवार नै सरकारमा जाने मन्त्रीको नाम टुंगो लाग्ने श्रेष्ठले बताए । जसमध्ये सामाजिक विकास मन्त्रालयमा सुर्खेतका यज्ञबहादुर विसी र जलस्रोत तथा ऊर्जा मन्त्रालयमा जुम्लाका दिनबन्दु श्रेष्ठ मन्त्री बन्ने चर्चा छ । विसी सभापति शेरबहादुर देउवा निकट हुन् भने श्रेष्ठ बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । श्रेष्ठ हाल सार्वजनिक लेखा समितिको अध्यक्ष समेत हुन् । यही कारण देउवा पक्षले श्रेष्ठलाई रोक्ने प्रयासमा छ । दैलेखका प्रदेशसभा सदस्य तथा दलका प्रमुख सचेतक हिम बहादुर शाही पनि मन्त्रीको लाईनमा रहेको चर्चा पनि चलेको छ । प्रदेशसभामा कांग्रेसका ६ सांसद छन् । ती मध्ये श्रेष्ठ मात्रै पौडेल निकट हुन् । यही कारण श्रेष्ठलाई जसरी पनि मन्त्री बनाउनुपर्ने पौडेल पक्षको दवाव छ ।