NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

विदेशबाट फर्किएकालाई नयाँ मापदण्ड, क्वारेन्टिन अवधिमा दुई पटक पीसीआर परीक्षण अनिवार्य

काठमाडौं । सरकारले जेठ १८ बाट तीन गन्तव्यमा अनतराष्ट्रिय हवाई उडान सुरु गरेसँगै विदेशबाट फर्किएकाहरूको लागि नयाँ मापदण्ड तोकेको छ । कोरोना महामारीको नियन्त्रण र रोकथामलाई असर नपर्नेगरी नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकको आगमनलाई व्यवस्थापन गर्न भन्दै यस्तो मापदण्ड ल्याएको हो । नयाँ मापदण्ड अनुसार अब नेपाल आएका यात्रुले १० दिनको क्वारेन्टिन अवधिमा दुई पटक पीसीआर परीक्षण गर्नुपर्ने छ । ती यात्रुले नेपाल फर्किएको चौथो र दशौं दिनमा परीक्षण गरी आफ्नै खर्चमा दश दिन होटल क्वारेन्टिन बस्नुपर्नेछ । त्यस्तैगरि नेपाल भ्रमणमा आएका यात्रुले नेपाल भित्रिनुअघि ७२ घण्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट, फोटो तथा बारकोडसहितको पीसीआर रिपोर्ट पेश गर्नुपर्नेछ । यात्रुको होटल बुकिङ र पछिल्लो ७२ बण्टाको पीसीआर रिपोर्ट नेगेटिभ भएमा मात्रै बोर्डिङ पास जारी गरिनुपर्नेछ । खाडी मुलुक र मलेसियामा बैदेशिक रोजगारीका लागि गएका श्रमिकहरूले ५ दिनको अनिवार्य होटल क्वारेन्टिन बसेपछि पीसीआर रिपोर्ट नेगेटिभ आएमा घर पुगेर थप १० दिनका लागि होम क्वारेन्टिन बस्नुपर्नेछ । अन्य मुलुकबाट आउनेका हकमा भने १० दिनका लागि अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने प्रावधान सरकारले तोकेको छ । जारी निषेधाज्ञा अवधीमा सरकारले भारतसँगै टर्की, चीन र कतारमा उडान खुलाएको छ । टर्किस एयरलाइन्सले प्रत्येक बिहिबार इस्तानबुल–काठमाडौं–इस्तानबुल उडान भर्नेछ भने नेपाल एयरलाइन्सले प्रत्येक सोमबार काठमाडौं–दोहा–काठमाडौं र बुधबार काठमाडौं–दिल्ली–काठमाडौं उडान भर्नेछ । त्यस्तैगरी कतार एयरवेजले हरेक हप्ताको सोमबार दोहा–काठमाडौंको उडान गर्ने र एयर इन्डियाले हरेक शुक्रबार दिल्ली–काठमाडौं–दिल्ली उडान गर्ने तालिका रहेको छ ।