NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

राष्ट्रपति भण्डारीले भनिन् – प्राकृतिक स्रोतको अधिक दोहनले पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन्। विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै भण्डारीले नेपालले विभिन्न अन्तरराष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयन गर्न थप उत्प्रेरणा दिने विश्वास व्यक्त गरिन्। मानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएकाले त्यसलाई पुनःस्थापना गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न राष्ट्रपतिले सबैमा आह्वान गरिन्। प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न नेपालमा पूर्वाधारको विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्नमा सहयोग पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन्। राष्ट्रपति दिवस मनाउने सन्दर्भमा गरिने सामुदायिक सरसफाइ, वृक्षरोपणलगायत सिर्जनात्मक क्रियाकलापमा जनस्वास्थ्यका मापदण्डप्रति सजग र सुरक्षित भई सहभागी हुन राष्ट्रपतिले सबैलाई आह्वान गरेकी छन्। संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउन लागिएको छ।