NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

किन बढेको बढ्यै छ खाने तेलको मूल्य ?

पछिल्लो समय खाने तेलको मूल्यमा कीर्तिमानी बनेको छ । अन्य खाद्य वस्तुको मूल्यमा सामान्य उत्तारचढाव देखिए पनि खाने तेलको मूल्य छोइनसक्नु छ । साढे दुई महिनायता लिटरमै ७५ रुपैयाँसम्म मूल्य बढेको खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए । ‘तेलबाहेक अन्य खाद्यवस्तुको मूल्यमा त्यति अन्तर देखिएको छैन । तर साढे दुई महिनाअघि १ सय ४५ देखि १ सय ६० रुपैयाँ पर्ने एक लिटर सोयाबिन तेलको मूल्य बढेर २ सय २० रुपैयाँदेखि २ सय ३५ रुपैयाँसम्म पुगेको छ । प्रतिलिटर २ सय ३५ रुपैयाँ पर्ने सनफ्लावर तेल अहिले ३ सय रुपैयाँसम्म पुगेको छ,’ उनले भने, ‘तोरीको तेल पनि २ सय ७५ रुपैयाँदेखि २ सय ९० रुपैयाँसम्ममा बिक्री भएकोमा ३ सय ३० रुपैयाँसम्म पुगेको छ ।’ यो खुद्रा मूल्य साढे २ महिनायताको हो । त्योभन्दा अगाडि पनि मूल्य निरन्तर बढेको संघले जनाएको छ । ‘स्वदेशी उत्पादन न्यून छ । पूर्णतः परनिर्भर भएकाले अन्तर्राष्ट्रिय बजारमा बढ्दा यहाँ पनि बढ्छ । घट्दा स्वदेशी बजारमा पनि घट्छ,’ नेपाल वनस्पति घिउ तेल उत्पादक संघका अध्यक्ष सन्दीपकुमार अग्रवाल भन्छन् । उनका अनुसार तेलमा भइरहेको मूल्यवृद्धिका विभिन्न कारण छन् । पहिलो कारण कच्चापदार्थको मूल्यवृद्धि नै हो । हाल संघमा २० उद्योग आबद्ध छन् । ती उद्योगमा चाहिने कच्चापदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीका गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायत मुलुकबाट आयात हुन्छ । कच्चापदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने हुँदा यहाँ पनि असर परेको संघको दाबी छ । कान्तिपुर दैनिकमा खबर छ।