NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

विदेशमा बारकोड उपलब्ध गराउने प्रावधान नभएपछि नेपाल आउने यात्रुलाई नयाँ मापदण्ड तगारो

काठमाडौं । सरकारले विदेशबाट आउनेका लागि नयाँ मापदण्ड तोकेसँगै यात्रु आगमनका लागि समस्या सिर्जना भएको छ । विदेशबाट नेपाल भित्रिने यात्रुले पीसीआर परीक्षण गरेको बारकोड र फोटोसहितको विवरण पेश गर्नुपर्ने नियमले यतिबेला समस्या सिर्जना गरेको छ । यतिबेला नेपाल एशोसिएशन अफ टुर एण्ड ट्रभल्स(नाट्टा), नेपाल टुरिजम बोर्ड लगायतलाई यात्रुका गुनाशा आउन थालेका छन् । अमेरिकालगायतका देशबाट नेपाल आउने यात्रुले यतिबेला त्यता पीसीआर परीक्षण गराउँदा बारकोड फोटो दुवैको प्रावधान नभएको गुनासो गरिरहेका छन् । नाट्टाले पनि यो मामदण्डले झनै जटिलता सिर्जना गरेको भन्दै नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको छ । शनिबार प्रेस रिलिज जारी गर्दै नाट्टाले विदेशी मुलुकमा आरटी–पीसीआर परीक्षणको रिपोर्ट दिँदा फोटोको क्यूआर र बारकोड उपलब्ध गराउने व्यवस्था नभएको हुँदा यसले समस्या सिर्जना गरेको बताएको छ । यसबाहेक दुबै डोजको खोप लगाएका यात्रुको हकमा पनि केही सहजीकरण नभएकोमा पनि नाट्टाले आपत्ति जनाएको छ । विदेशबाट नेपाल भित्रिने यात्रुको हकमा ७२ घण्टाको आरटी पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ र खोप लगाएकाहरुको लागि क्वारेन्टिन अनिवार्य नगर्न नाट्टाले प्रस्ताव गरेको छ । त्यस्तैगरि स्वास्थय मापदण्डको पालनामा अन्तर्राष्ट्रिय एयरलाइन्सलाई थप नियमित उडान गर्नका लागि अनुमति दिन पनि आग्रह गरेको छ । जारी निषेधाज्ञाबीच भारतसँगै टर्की, चीन र कतारमा नियमित उडान सञ्चालन गर्ने निर्णयपछि सरकारले नेपाल आउने यात्रुका लागि नयाँ मापदण्ड ल्याएको हो । जसअनुसार नेपाल भित्रिनुअघि यात्रुले ७२ घण्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट, फोटो तथा बारकोडसहितको स्वाब संकलनको विवरण पेश गर्नुपर्ने हुन्छ । यात्रुको होटल बुकिङ र पछिल्लो ७२ घण्टाको बारकोड र फोटोसहितको पीसीआर नेगेटिभ रिपोर्ट भएमा मात्रै बोर्डिङ पास जारी गर्ने प्रावधान तोकिएको छ । विदेशमा बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट नदिने नियम भएकाले नेपाल आउन समस्या भएको हो । यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेल भने त्यस्तो प्रावधान नभएका देशबाट नेपाल आउने यात्रुका लागि भने छुट दिइने बताउँछन् । तर, होटल क्वारेन्टिन भने खोप लगाएपनि अनिवार्य बस्नुपर्ने उनले बताए । यात्रु आगमनबारे निगरानीको जिम्मेवारी लिएका इपिडिमयोलोजि तथा रोग नियन्त्रण महाशाखाका अधिकारी डा.हेमन्त ओझा आएका यात्रुले फेक रिपोर्ट ल्याउन सक्ने सम्भावनलाई नियन्त्रण गर्नका लागि यस्तो नियम ल्याएको बताउँछन् । ‘तलमाथि केही भयो भने हेर्ने मान्छेलाई पनि समस्या हुन्छ । उताको ल्याबले फेक रिपोर्ट पेश गर्लान् भनेर यस्तो नियम ल्याइएको हो,’ उनले भने,‘ अध्यादेश ल्याएका कारण हामीले पनि उच्च निगरानीका साथ काम गर्नुपर्ने हुन्छ । तलमाथि भएमा हामीले उताको ल्याबसँग सम्पर्क गर्न सक्दैनौं ।’ यद्यपी विभिन्न माध्यमबाट यस्ता गुनासा आइरहेका कारण आगामी सोमबारसम्म यसबारे स्पष्ट आधार तोक्ने उनले बताए । तर सोमबार भन्दा अघि आउने यात्रुलेले रिपोर्टमा केही न केही भेरिफिकेसनको आधार तय गर्नुपर्नेमा पनि उनको जोड छ । ‘बारकोड उपलब्ध नगराउने प्रावधान भएमा पीसीआर रिपोर्टमै एउटा पासपोर्ट साइजको फोटो टास्न लगाएर स्ट्याम्प राख्न लगाउने हो भने यो त्यही व्यक्ति हो भन्ने पुष्टि हुन्छ,’ उनले भने, ‘सोमबार अघि आउने यात्रुले यो गर्न सक्छन् ।’ नाट्टाका महासचिन अच्युत गुरागाईं सरकारले सम्बन्धित निकायसँग छलफल नै नगरी हावादारी नियम ल्याएको बताउँछन् । ‘संसारमै नभएको नियम हावाको भरमा ल्याइयो । समन्वयबिना नै ल्याइने यस्ता नियमले सधैं समस्या ल्याएका छन्,’ उनले भने, ‘त्यसमाथि हिजो मन्त्री पनि फेरिएपछि त यसले झनै समय ल्याउने नै भयो । हामीले प्राधिकरण र मन्त्रालयमा कुरा राखेका छौं । चाँडै निर्णय हुन्छ भन्ने आशा छ ।’