NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

वातावरण विनाशका कारक : मानवीय व्यवहार

काठमाडौं । काठमाडौंको बागमती नदीलाई नालाका रुपमा प्रयोग गरी घरबाट निस्किएको फोहर पानी सिधै हाल्ने क्रम अहिले पनि जारी छ । यहाँको पानी सफा गर्ने वर्षौंदेखिको प्रयास सफल हुन सकिरहेको छैन । पानीको उपचार (प्रशोधन) नगरी फ्याँक्दा बागमती मरेको नदीका रुपमा परिणत भएको भन्छन् जलस्रोत व्यवस्थावनका विज्ञ डा. दिवसबहादुर बस्नेत । यहाँ भइरहेको सरसफाइ अभियानको सन्दर्भ जोड्दै उनले भने, – ‘वाग्मती सफा गर्न त थालियो तर फोहोर फाल्नु हुँदैन भन्ने अभियान चल्न सकेन ।’ त्यसका कारण सफाइ गर्न थालिएको सयौँ हप्ता बितिसक्दा सामान्यबाहेक बागमतीको पानीमा सुधार आउन सकेको छैन । वास्तवमा भन्ने हो भने वातावरणमा असर परिरहेको छ भन्ने जानेर पनि मानिसमा व्यवहार परिवर्तन नआउँदा समस्या यथावत छ । वातावरण विरुद्धको यो त एउटा सानो तथ्य हो । मुलुकको पारिस्थितिकीय प्रणालीमा कति नकारात्मक प्रभाव परिरहेको छ भन्ने कुरा उक्त तथ्यले उजागर गर्छ । गिट्टी–बालुवा उत्खननका कारण मुलुकका चुरे पहाड ढलेर बगरमा परिणत भइरहेका छन् । मलिला जमीन कङ्क्रिटमा परिणत छ । उर्वर भूमि सङ्कटमा परिरहेको छ । पानीका मुहार र स्रोत सुक्दैछ । अधिक र न्यून वर्षाका कारण कतै अनावृष्टि तर कतै अति वृष्टि छ । जथाभावी वन विनाश भइरहेको र विकास निर्माणका काम योजनाविहीन हुँदा बाढीपहिराका प्रकोपले बर्षेनि ठूलो जनधनको क्षति भइरहेको छ । यी सब हुनुमा मानव नै प्रमुख कारण भएको वातावरणविद्को ठम्याइ छ । विश्व वातावरण दिवसको सन्दर्भ जोड्दै डा. बस्नेत हिमाल, पहाड र तराईका पारिस्थितिकीय प्रणालीका आ–आफ्नै महत्व रहेको र त्यसलाई बचाइराख्नु आजका लागि चुनौतीको विषय भइरहेको बताउँछन्। प्राकृतिक स्रोत साधन मानव जीवनका लागि अमूल्य सम्पत्ति हो । त्यसैकारण पृथ्वीमा मानवीय अस्तित्व बाँकी छ । त्यसैले यसलाई जोगाइराख्नु मानवको पहिलो कर्तव्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. दिनेशराज भुजु प्राकृतिक पारिस्थितिकीय प्रणालीको विकल्प बनाउनै नसकिने बताउँछन् । ‘प्रकृतिलाई चुनौती दिन, नक्कल गर्न असम्भव छ, हामीले वातावरणलाई बचाइराख्नुपर्छ’, डा. भुजुले भने। ‘विज्ञका अनुसार गाँस, बास र कपासका लागि स्रोतको सदुपयोग गर्दा यसबाट हुने नकारात्मक असरलाई कसरी न्यूनीकरण गर्ने भन्ने सन्दर्भ भुल्न हुन्न । त्यसका लागि योग्य व्यवस्थापन जरुरी छ, जल, जमीन र जैविक प्रणालीको उचित एकीकृत व्यवस्थापन अबको आवश्यकता हो’, डा. बस्नेतको भनाई छ । खोलामा बाँध लगाएर मात्रै नहुने त्यसका लागि खोलाको पनि उचित निकासको व्यवस्थापन हुनुपर्छ । एकीकृत योजनाबाट नै त्यो सम्भव रहेको उनले बताए । पछिल्लो समयमा विपद् आउनुमा पनि कतिपय मानवीय कारण जोडिएको छ । जथाभावी सडक निर्माण गर्ने, प्राकृतिक स्रोतको दोहोन गर्ने काम मानिसबाटै भएको छ । डा. बस्नेत त्यस्ता विपद् रोक्न प्रकृतिमा आधारित उपाय अपनाउ जरुरी रहेको बताउँछन् । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहले विश्वकै वातावरण र पारिस्थितिकीय प्रणाली कमजोर भइरहेको र वातावरणमा असर बढ्दो रहेको भन्दै चिन्ता प्रकट गरेका छन् । मानव बाँचिरहने प्रणाली शुद्ध भएन भने मानव अस्तित्व नै खतरा पर्ने उनको भनाइ छ । ‘बढ्दो वातारवणीय असरलाई कम गर्दै प्राकृतिक स्रोत साधनलाई पुरानै अवस्थामा कसरी फर्काउने भन्ने कुरा महत्वपूर्ण विषय हो’, – उनले भने ।