NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सेनाको अगुवाइमा हिमालबाट २८ हजार किलो फोहर संकलन

काठमाडौं । नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा संलग्न सैनिक टोली र सहयोगी संस्थालाई सम्मान गरेको छ । सैनिक मुख्यालय जङगी अड्डामा शनिबार आयोजित कार्यक्रममा प्रबन्धरथी उपरथी गोकुल भण्डारीले उनिहरुलाई कदरपत्र प्रदान गरेका हुन् । सेनाको अगुवाइमा सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, मकालु, धवलागिरी, पुमोरी र आमादब्लम हिमालबाट गत चैत ३१ गतेदेखि यही जेठ १५ सम्म २७ हजार ६७१ किलो फोहर संकलन गरिएको थियो । अभियानका क्रममा संकलन गरेको नकुहिने २५ हजार १६६ फोहर प्रशोधनका लागि काठमाडौं ल्याएर सम्बन्धित संस्थालाई हस्तान्तरणका साथै कुहिने २ हजार ५०५ किलो सम्बन्धित क्षेत्रका स्थानीय तहलाई बुझाइएको थियो । यस क्रममा धौलागिरी हिमालको आधार शिविरमा भेटिएका दुई शव र सगरमाथाको चौथो क्याम्पमा फेला परेका दुई शव उचित व्यवस्थापनका लागि सम्बन्धित अधिकारीलाई बुझाईको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कदरपत्र हस्तान्तरण कार्यक्रममा उपरथी भण्डारीले अभियानले हिमाल सफाई सम्बन्धमा आम जनतालाई सूसूचित गराउन, मुलुकको अमूल्य नीतिका रुपमा रहेका हिमालको मनोरम कायम राख्न तथा नागरिक– सैनिक सम्वन्ध विस्तार र सहकार्यमा नमूना प्रस्तुत भएको बताए । सेनाले सन् २०१९ मा सगरमाथा हिमाल सफाइका क्रममा १० टन फोहरसँगै विभिन्न मितिमा हिमाल आरोहरणका क्रममा ज्यान गुमाएका ४ आरोहिको शव काठमाडौ ल्याएर सम्बन्धित परिवारलाई बुझाएको गरेको थियो । सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक हिमांशु खड्काले सेनाको अगुवाइमा ४३ सैनिक र ६९ गैरसैनिक सम्मिलित पाँच टोली बनाएर अभियानका क्रममा ६ हिमालबाट फोहर संकलन गरिएको बताइएको छ । ‘हिमाल हाम्रो शान भएकाले जति सक्दो सफा राखौ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियान निकै प्रभावकारी भएको बताइएको छ । वन तथा वातावरण मन्त्रालय वातावरण महाशाखाका महानिर्देशक धनन्जय पौडेलले अभियान मार्फत हिमालको महत्व र सरसफाई सम्वन्धमा ठिक ढंगबाट जनचेतना प्रवाह भएको बताए । अभियानका क्रममा तीन जना सैनिक र दुई जना गैरसैनिकले आमादब्लम हिमालको सफल आरोण समेत गरेका थिए ।